काठमाडौं, जेठ १९: नेपाली सेनाद्वारा आयोजित प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७६ को आइतबार बलाधिकृत रथी शरद कुमार गिरीले एक विशेष समारोहकाबीच रेफ्रीलाई भलिबल हस्तान्तरण गरी समुद्घाटन गरेका छन् ।
नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा २०७६ जेष्ठ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभागीय तीन टिमसहित सातवटै प्रदेशका एक/एक भलिबल टिम गरी जम्मा दश टिमको सहभागिता रहेको छ ।

यस प्रतियोगितामा नेपाली सेनाले खेलकुदको विकास तथा खेलाडीहरुको हौसला वृद्धि गर्न नेपाल इन्भेष्टमेण्ट बैंकको प्रायोजनमा प्रथम, द्धितिय र तृतिय हुने विजेता टिमलाई क्रमशः ३ लाख, १ लाख ५० हजार र ७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर, सर्भर र कोचलाई १०/१० हजार नगद पुरस्कार तथा प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीलाई १ सय ६० सिसि बजाज कम्पनीको मोटरसाईकल १ थान दिने समेत व्यवस्था गरिएको छ।
उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्दहरु, नेपाल भलिबल संघका अध्यक्षलगायत पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, अन्य सुरक्षा निकायका अधिकृत प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, नेपाल इन्भेष्टमेण्ट बैंकका प्रतिनिधि, बजाज बाइकको अधिकृत विक्रेता हंसराज हुलासचंद कम्पनीका प्रतिनिधि, नेपाली सेनाका अधिकृतहरु लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
यस किसिमको प्रतियोगिताले नागरिक सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।