काठमाडौं, कार्तिक १२ : स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पतालमा नेकपा नेताको घुइँचो नै लागेको छ। सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
उनलार्इ चिकित्सक शन्तकुमार दासले उपचार गरिरहेका छन्। मनमोहन कार्डियोथोरासिस सेन्टरले गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार छातिमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रामा अनसन्तुलन भएको छ। ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको समेत जनाइएको छ।
ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।
प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। छातिमा समस्या र रुघाखोकी सामान्य अवस्थामा नआएपछि स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन्।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुगेका छन्।
यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्किएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिए। अस्पतालले केही समयपछि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने बताएको छ ।
प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड ट्रान्सप्लान्ट केन्द्रमा उपचार भइरहेको छ ।
शुक्रबारदेखि नै स्वास्थ्यमा समस्या भएपछि शनिबारको पार्टीकै चियापानमा पनि ओली सहभागी हुन सकेका थिएनन्। आइतबार स्वास्थ्यमा केही सुधार आएको भनिएपनि फेरि सोमबार बिहानी एक्कासी छातिमा समस्या देखिएको हो। ११ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य अवस्था यसैपनि संवेदनशील मानिन्छ।