प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, सत्यतथ्य सार्वजनिक गर्न युवाहरुको माग

| 2020 May 17 | 08:24 pm 2061

  • सन्तोष महतारा
गुल्मी, जेठ ४ः गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता देखीएको छ । जिल्लाको एक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता देखिएको भन्दै स्थानीय युवाहरुले यसबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडा नं.५ छापहिलेमा हुदा खाने भन्दा हुनेखानेहरुनै प्रधानमन्त्री रोजगारमा समेटिएकोले यसबारे सत्यतथ्य बुझ्न मौखिक रुपमा वडा कार्यालयलाई माग गरिएको स्थानीय केशव आचार्य ले जानकारी दिए ।
छापहिले बाट रोजगार कार्यक्रममा समेटिएका ३१ जना मध्ये अधिकांश मापदण्ड बिपरित छन् । यसै विषयलाई स्थानीय युवाहरुले मापदण्ड बिपरित गर्न नहुने भन्दै वडा कार्यालय लाई ध्यानाकर्षण समेत गराएका छन् । यस विषयलाई मालिका गाउँपालिकाका रोजगार संयोजक खेमराज गैरेले आफै वडामा गएर बुझ्ने र मापदण्ड बिपरित भएमा सच्याउने बताएका छन् ।
वडाध्यक्ष श्यामलाल गिरीले जो अति गरीब छु भनेर फारम भरेका थिए उनैले रोजगार पाएको बताएका छन् । धनीहरुले गरिब छु भनी फारम भर्नु दुःखद् बिषय भएको उनले बताए ।
स्थानीय युवा मनिष गिरीले वडाध्यक्षलाई “तपाईं निर्वाचित भएको तीन वर्ष पुरा भयो तर अहिले सम्म कुनैपनी उल्लेखनीय काम गर्न सक्नुभएन, कतै तपाईंमाथी राजनीतिक हस्तक्षेप त भएन ?” भन्दै प्रश्न गर्दा वडाध्यक्ष गिरीले आफूमाथी राजनीतिक रुपमा दबाब नआएपनी आफूले त्यस्तो उदाहरणीय काम गर्न नसकेको स्वीकारेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) बाट आफू पनि बचौं अरुलाइ पनि बचाऔं भन्दै स्थानीय युवाहरुले सामाजिक दुरी कायम गरि वडा कार्यालयमा अरु थुप्रै विषयमा पनि छलफल गरेका थिए ।
गुल्मीसंग सिधा सम्पर्क भएको रुपन्देहीमा कोरोना संक्रमित भेटिँदा पनि थुप्रैको संख्यामा रुपन्देहीबाट छापहिले आउँदा कसैलाई पनि वडा कार्यालयले क्वारेन्टाइनमा नराखेकोले आपत्ति जनाउँदै कोरोना भाइरस आगो जस्तै फैलिन सक्ने भएकाले पछिल्लो समयमा वडामा भित्रिएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्नुपर्ने भन्दै स्थानीय युवा तुल्सीराम अर्यालले सुझाव दिएका छन् ।
स्थानीय युवाहरूले कोरोना संगै वडामा भएका थुप्रै गतिविधिहरुमा आफू जानकार नभएको भन्दै चासो ब्याक्त गरेका थिए । वडा कार्यालयमा सूचना पाटी समेत नरहेको यो सूचना प्रबिधिको युगमा वडाका अधिकांश नागरिक सूचनाको हकबाट बञ्चित रहेकोले वडाले सामाजिक सञ्जालसमेत  मार्फत सबै सूचना नागरिकसम्म पुर्‍याउनको लागि रेशम गिरीले अनुरोध समेत गरेका थिए ।
वडा कार्यालयले कोरोना भाइरसबाट बच्न वडाका सबै नाकामा केहि समय अघि स्वंमसेवक राखेको तर पछिल्लो समय कोरोना संक्रमित बढिरहेका बेला सिमा नाका खुलेयाम छोडेको, बाहिरबाट आउने नागरिकलाई क्वारेन्टाइनमा नराखेको, निस्ती खोलाको बालुवा उत्खनन अबैध रुपमा भएको, वडामा अधिकांश योजनामा पारदर्शीता नभइ राजनैतिक रुपमा भागबण्डा भएको र वडाका काममा पारदर्शीता नभएको भन्दै स्थानीय युवाहरुले यसबारे चासो व्याक्त गरेका हुन् ।
यसबारे वडाध्यक्ष श्यामलाल गिरीले अब देखि यस्तो नहुने प्रतिबद्धता जाहेर गरेका छन् । वडा कार्यालयले केही दिन भित्र युवाहरुको मागलाई सम्बोधन नगरे युवाहरुले वडा कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.