बालुवाटारमा गाडि धुन मासिक १२ लाखको पानी, फोनको बिल ८८ लाख

| 2018 Aug 20 | 06:56 am 1660

काठमाडौं, भदौ ४: सरकार बाहिर लोकप्रिय भाषण गर्ने र खर्च मितव्ययी गर्नेतर्फ अघि बढेको अभिव्यक्ति दिइरहेका हुन्छ। तर, प्रधानमन्त्री केपीशर्मा ओली निवास बालुवाटारमा मासिक १२ को ट्ंयाकरको पानी मगाएर गाडी तथा मोटरसाइकल धुने गरिन्छ।

बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो। प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ। यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन।

प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन। ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ।

बगैँचाका रूख-बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिन्छ। भएको डिप बोरिङ प्रयोग गरिँदैन। ‘भिआइपीहरूलाई ट्यांकरमा पानी पठाउँछौँ। त्यो पानी मोटरले तानेर त्यहाँका कर्मचारी गाडी, मोटरसाइकल धोइरहेका हुन्छन्। तर, हामीले केही भन्न सक्ने स्थिति हुँदैन,’ एक कर्मचारीले भने।

मन्त्रीकै घरभाडामा ८१ लाख, पानी र बिजुलीमा साढे ३ करोड, टेलिफोन र इन्टरनेटको बिल ८८ लाख, मसलन्द र पर्दा–कार्पेटमा २ करोड, फर्निचरमा १ करोड ९० लाख र मर्मतमा १ करोड १० लाख

देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ। पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ। ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ।

सञ्चारमा ८८ लाख

राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूको निवासमा जोडिएको टेलिफोन र इन्टरनेटको एक वर्षको बिल ८८ लाख उठेको भवन सम्भार डिभिजन कार्यालयका उपसचिव रामकृष्ण पन्थीले बताए ।

घरभाडामा ८१ लाख

शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा क्वार्टर नपुगेपछि केही मन्त्री बाहिर भाडामा बसेका थिए। उनीहरूको घरभाडामा ८१ लाख खर्च भएको पन्थीले बताए। भाडामा बस्ने मन्त्रीलाई सरकारले प्रतिमहिना ४० हजारका दरले भाडा शुल्क दिने गरेको छ।

झण्डै दुई करोडको फर्निचर

गत आर्थिक वर्ष राष्ट्रपतिदेखि मन्त्रीसम्मको निवासमा एक करोड ९० लाखको फर्निचर किनिएको छ । फर्निचर शीर्षकमा भएको खर्चमध्ये सबैभन्दा धेरै सोफा र कुर्सीमा भएको छ। विशिष्टहरूको कार्यालयसम्बन्धी खर्चमा २ करोड खर्च भएको छ । यो खर्च किचेन, मसलन्द, पर्दा र कार्पेटमा भएको हो।

सामान्य मर्मतमा ६० लाख खर्च भएको छ। यसमा धारा, मेसिनरी औजार मर्मत खर्चमा गरी एक करोड १० लाख खर्च भएको छ। एसी, इन्डक्सन चुलो, ल्यापटपलगायत सबैको मर्मत खर्च यसैमा समेटिएको छ।

ट्वाइलेटपेपरदेखि भान्साका भाँडाकुँडासम्म राज्यकै

विशिष्ट पदाधिकारीहरूले सुविधाका नाममा ट्वाइलेटपेपरदेखि किचनमा प्रयोग हुने भाँडाकुँडा, पर्दा, टाबेललगायत सबै लिने गरेका छन्। विशिष्ट पदाधिकारीको निवासबाट जे माग्यो, त्यो दिनुपर्ने बाध्यता कार्यालयलाई रहेको भवन सम्भार डिभिजन कार्यालयका एक कर्मचारीले बताए।

‘खानेकुराबाहेक सबै पठाउँदै आएका छौँ,’ उनले भने, ‘हामीले प्रधानमन्त्री, मन्त्री र उहाँहरूको परिवारलाई मात्र सेवा दिएर पुग्दैन, उहाँहरूका आफन्त, कार्यकर्ता, सुरक्षाकर्मीलाई पनि सुविधा दिनुपर्ने बाध्यता छ।’

एकजना मन्त्रीको क्वार्टरमा २० देखि ३० जनासम्मलाई राज्यकोषबाट सुविधा दिनुपरिरहेको कार्यालयको गुनासो छ। ‘विशिष्ट पदाधिकारीहरूको घर चलाइदिनुपरेको छ, त्यो पनि हाइफाई सुविधासहितको,’ ती धकर्मचारी भन्छन्।

कतिपय मन्त्री त आफूअनुकूल सामान खरिद गरेर भवन सम्भार कार्यालयमा बिल पेस गर्छन्। कसलाई के सुविधा दिने भन्ने निर्देशिका वा नियमावली नहुँदा आफूहरूलाई अप्ठ्यारो भएको उनले बताए।

मन्त्रीक्वार्टरको स्टोर पर्दाले भरियो

एक कर्मचारीका अनुसार पुल्चोकस्थित मन्त्रीक्वार्टरको स्टोर महँगा पर्दा र कार्पेटले भरिएको छ। मन्त्री परिवर्तन भएअनुसार पर्दा र कार्पेट फेरिन्छ। पुराना मन्त्रीले प्रयोग गरेका पर्दा, कार्पेट स्टोर रुममा थुपारिन्छ। ती कर्मचारीका अनुसार अहिले दुई ट्रकबराबरको सामान मन्त्रीक्वार्टरको स्टोरमा ढुसी आएको अवस्थामा छ। सरकार-मन्त्री फेरिएसँगै सोफा र भाँडाकुँडा पनि फेर्ने परिपाटी छ। यी सबै सामान स्टोरमै थुपारिएका छन्। नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.