प्रधानमन्त्री गफ दिन्छन्, मन्त्रीहरू कमाइखान्छन्, तर हामी रेलिङ भाँच्न हिँड्दैनौँ : प्रकाशशरण महत

| 2018 Oct 29 | 09:18 pm 4908

नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महत सभापति शेरबहादुर देउवाका खास विश्वासपात्र हुन् भन्ने विश्वास सचेत तप्काले राख्दै आएको छ । पार्टी विभाजन हुँदादेखि शेरबहादुर देउवालाई साथ र दह्रो समर्थन गर्दै आएका महतलाई देउवाले पनि सहयोग प्राप्त गरेअनुसारको फल राम्रैसँग दिँदै आएका छन् । पार्टी विभाजन हुँदा साथ दिएका कैयौँ नेताले सभापति देउवालाई छाडेर क्याम्प परिवर्तन गर्दासमेत देउवाको साथ नछोडेका महतलाई पछिल्लो पटक सह–महामन्त्रीमा नियुक्त गरेर गुन लगाएका छन् । सभापति देउवालाई आफ्नै पार्टीका अर्को गुटबाट आक्रमण हुँदा समेत वैचारिक रुपले रक्षाकवजका रुपमा प्रस्तुत हुने महामन्त्री डा. महतसँग ‘रिपोर्ट नेपाल’का लागि गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० नेपाली कांग्रेसको बैठक नै नबसी एक्कासी महासमितिको बैठकको चर्चा चल्यो, महासमितिको लागि बैठक बस्नु पर्दैन ?
– महासमितिको बैठक विधानअनुसार पहिल्यै हुनुपर्ने थियो, विविध कारणले हुन सकेको थिएन । यसअघि नै महासमिति बैठक बस्ने निर्णय भइसकेको अवस्था हो । वरिष्ठ नेता रामचन्द्र पौडेल देशबाहिर भएका कारणले बैठक नबसेको हो । उहाँ आएपछि बैठक बस्छ र महासमितिका लागि आवश्यक सबै निर्णय हुन्छ ।

० महासमितिको बैठकको तयारी केही भएको छैन, खाली वैधताको लागि मात्रै बस्ने हो कि के हो ?
– कसले भन्छ तयारी भएको छैन भनेर ? पार्टीले महासमिति बैठकका लागि प्रस्तुत गर्ने सबै प्रस्तावहरू तयार गर्न जिम्मा दिइसकेको छ । महामन्त्री पूर्णबहादुर खड्काले पेस गर्नका लागि तयार गरेको विधान विभिन्न स्थानमा गएर छलफल र सुझाव संकलन गरी तयार पार्नुभएको छ । मंसिर ५ गते देखि ९ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकलाई भब्य र सभ्य बनाउन सबै नेता साथीहरू आ-आफ्नो ठाउँबाट लाग्नुभएको छ । विधानले तल्लो तहका कार्यकर्ताहरूको समेत पहुँच पुर्याउनका लागि संघीय संरचनाअनुसार काम भइरहेको छ ।

० तपाईंको नेतृत्वमा भएको आर्थिक समितिको प्रगतिका बारेमा तपाईं के भन्नुहुन्छ ?
– मेरो नेतृत्वमा भएको आर्थिक नीति मस्यौदा समितिले तिव्र गतिमा आफ्नो काम अगाडी बढाइरेको छ । मुलुकका मुख्य शहरमा भएको आर्थिक विषयसँग सम्बन्ध राख्ने साथीहरूसँग सुझाव लिइरहेका छौँ । पर्यटकीय नगरी पोखरा, औद्योगिक नगरी वीरगञ्ज, विराटनगर, नेपालगञ्जमा कार्यक्रम राखेर त्यहाँका अर्थसँग सरोकार राख्ने र मुलुकको आर्थिक नीति कस्तो हुनुपर्छ भनेर चिन्ता व्यक्त गर्ने साथीहरूसँग छलफल गरिसकेका छौँ । सबै क्षेत्रका अर्थसम्बन्धी दक्षता राख्ने साथीहरूसँग परामर्श गरेर छिट्टै काठमाडौंमा एक विशेष काम गरेर अन्तिम रुप दिइने छ ।

० त्यसो भए महासमिति बैठकमा सबै प्रतिवेदन पेश हुन्छन् होइन त ?
– पार्टीको नीति-नियम बनाउने सर्वोत्कृष्ट निकाय महासमितिको बैठकमा सबै विषयमा प्रतिवेदन पेश हुन्छन् । महासमिति बैठकमा पेस हुने राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले तयार गरिदिनुभएको छ भने महामन्त्री कोषाध्यक्ष सबैले आ-आफ्नो जिम्मेवारी अनुसारको प्रतिवेदन तयार गरिरहनुभएको छ । वरिष्ठ नेता रामचन्द्रको नेपाल आगमन र यी सबै समितिले आफ्नो काम सम्पन्न गरेपछि केन्द्रीय समितिको बैठक बस्छ । बैठक नबसेकै कारण महासमितिको बैठक प्रभावित भयो भनेर कसैले सोचेको भए त्यो गलत हो ।

० तपाईंको भनाइअनुसार महासमितिको बैठकका लागि तीव्र काम भइरहेको छ, तपाई नेतृत्वको आर्थिक समितिले कस्तो प्रतिवेदन तयार पर्दैछ ?
– हामीले जननायक बीपी कोइरालाको समाजवादउन्मुख आर्थिक नीतिमै केन्द्रीत भएर प्रतिवेदन तयार गरिरहेका छौँ । लोकतान्त्रिक समाजवादको अवधारणामा नेपाली कांग्रेसको आर्थिक नीति बन्ने छ ।

० विषयगत रूपमा भन्नुपर्दा प्रष्टसँग भनिदिनुहोस् न कस्तो हुन्छ ?
– अहिले शासकीय स्वरुपको संरचनाअनुसार विकेन्द्रीकृत नीतिलाई प्रमुख प्राथमिकतामा राखिने छ । आमजनताको पहुँचमा पुर्याउन राज्यका तर्फबाट गर्नुपर्ने सबै दायित्वका विषयहरू समावेश हाम्रो प्रतिवेदनमा हुनेछन् । नेपाली कांग्रेसको महासमिति बैठकमा पारित हुने आर्थिक कार्यदिशा नयाँ जनमुखी र महत्वपूर्ण हुनेछन् ।

० नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको हिमायती ठान्छ, किन यत्तिका समयसम्म पार्टीलाई संघीयतामा लैजान सकेको छैन ?
– पार्टीको आन्तरिक कारणले यसअघि संघीय ढाँचामा लैजान नसकेको कुरा सत्य हो । यसो भन्दैमा कांग्रेस संघीय ढाँचामा जान नचाहेको भन्ने चाहिँ होइन । अहिले कांग्रेसलाई कसरी संघीय संरचनाअनुसार तल्लो तहसम्म पुर्याउने भन्ने विषयमा पार्टी केन्द्रीत भएर लागिपरेको छ । विभिन्न समितिमा रहेका साथीहरूले यहि विषयलाई केन्द्रबिन्दुमा राखेर अभ्यास गरिरहेका छौं ।

० पार्टीभित्र पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउने कुरा उठेको सुनिन्छ, सत्य के हो ?
– तपाईंले भनेजस्तै यस विषयमा कुरा उठेपछि छलफल भएकै हो । मेरो व्यक्तिगत विचारमा पदाधिकारीमा सामान्य हेरफेर भए पनि केन्द्रीय समिति धेरै ठूलो होला जस्तो मलाई लाग्दैन । स्थानीय तह, प्रदेश र केन्द्रमा केही गर्नुपर्ने कुरा सही हो तर यसका विषयमा सभापति र शीर्ष नेतृत्वले के गर्छ त्यो भविष्यले बताउँछ ।

० सभापति देउवानिकटका तपाईंहरू सभापतिको अधिकार बढाउने विधान तयार गर्न लागेको भन्ने आरोप छ, के भन्नुहुन्छ ?
– मैले पनि यस्तो बाहिरी हल्ला यदाकदा सुनेको छु । यो वाहियात हल्ला हो । पार्टी सभापतिको अधिकार बढाउने-घटाउने विषयमा शीर्ष तहमा छलछल भएकै छैन । हामी कसको अधिकार बढाउने र कटौती गर्ने भन्दा पनि पार्टीलाई नयाँ सोच, चिन्तन र संरचना अनुसार अगाडी बढाउने भन्ने कुरामा बढी केन्द्रीत छौंँ ।

० सरकारको गलत काम कारवाहीका बारेमा प्रतिपक्ष कांग्रेस निरीह बनेको भन्ने आरोपलाई तपाईं के भन्नुहुन्छ ?
– यो देशमा सरकार छैन भन्ने हो भने दुईतिहाईको कम्युनिष्टको सरकार छ । सरकार छ भन्ने हो भने देशमा हत्या, बलात्कार, लुटतन्त्र, महँगी र अत्याचारले सीमा नाघिसकेको छ । प्रधानमन्त्री ओली दुई तिहाइको गुड्डी हाँक्छन्, मन्त्रीहरू त्यसैलाई कमाइखाने साधन बनाइरहेका छन् । हामीले यसका विरुद्ध सदन र सडकमा आवाज उठाइरहेका छौँ । विरोध गर्ने नाममा विगतमा एमालेले गरे जस्तै रेलिङ भाँच्ने र राज्यका सम्पत्ति तोडफोड गर्ने कुरा भएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.