काठमाडाैं,भादाै ४: प्रधानमन्त्री एवम् सत्तारूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागे नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री गत साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्केका थिए ।
चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री पुनः सिङ्गापुर जान लागेका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेकाे छ । बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए।