प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच खटपट सुरु

रिपोर्ट नेपाल | 2019 Oct 22 | 07:11 am 2118

काठमाडौं, कात्तिक ५: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको हो।

असमझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति÷समझदारीमा अडिने सवालमा केही समस्या देखा पर्न थालेको छ, दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले सोमबार भने, पार्टीमा देखा पर्न थालेको असमझदारीका विषयमा उहाँहरू केही दिनयता छलफलमै हुनुहुन्छ।

ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो। आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए। दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन।

विवाद बढ्दै जाँदा अहिले एकले अर्को नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तिखो आलोचनामा उत्रने समेत गर्न थालेका छन्। ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन्।

ओलीनिकट एक नेताले दुई अध्यक्षबीचको छलफललाई मतभेदका रुपमा भन्दा पनि समझदारी निर्माणका लागि भएको प्रयासका रुपमा बुझ्न आग्रह गरे। ती नेताले भने, उहाँहरू छलफलमा हुनुहुन्छ, छलफलबाटै एउटा निर्णयमा पुग्नुहुन्छ।

ओलीले दाहालले प्रतिपक्षी दल कांग्रेसको चियापान कार्यक्रमदेखिका सार्वजनिक सम्बोधनमा व्यक्त असन्तुष्टि आफ्ना इच्छा पूरा नहुँदा गरेको निराशाको अभिव्यक्तिका रुपमा अर्थाएका थिए।

दाहालले कांग्रेसको चियापानमा पुगेर दुई तिहाइ ठूलो कुरा नभएको र कांग्रेससँग पनि सहकार्य गरेर अगाडि जान सक्नेदेखि पार्टीभित्र ग्यास्ट्रिक र अल्सरजस्ता रोग लाग्न थालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

यस्ता अभिव्यक्तिले दुई अध्यक्ष एक(अर्कासँग सशंकित बन्न थालेका छन्। दुई अध्यक्षबीच तिक्तता बढ्न थालेपछि ओलीले शनिबार दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए। तर दाहाल ओलीले बोलाएको समयमा बालुवाटार नगई सपरिवार सिन्धुपाल्चोकको झुले पुगेका थिए।

त्यसपछि आइतबार बिहान ओली र दाहालबीच टेलिफोन सम्वाद भएको थियो। सम्वादका क्रममा दाहालले पार्टी स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक बोलाउन माग गरेको दाहालनिकट नेता बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.