झापा, चैत्र १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीको गृह जिल्लामा आज हुने भनिएको तीन वटा कार्यक्रमलाई स्थगित गरी प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त भएको जिल्लामा स्थलगत अनुगमनका लागि भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत प्रस्थान गरेका छन् ।
उनीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यको अनुमगन गर्न सोमबार १२ बजे झापाको भद्रपुर विमानस्थलबाट प्रस्थान गरेका छन् ।
गृहमन्त्रालयमा प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी गृहमन्त्री थापाले दिएका छन् । साथै उनले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताए । मन्त्री थापाले घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकता अनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराउने जानकारी दिए ।