काठमाडौं, कार्तिक १२ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
उनलार्इ चिकित्सक शन्तकुमार दासले उपचार गरिरहेका छन्। शुक्रबारदेखि नै स्वास्थ्यमा समस्या भएपछि शनिबारको पार्टीकै चियापानमा पनि ओली सहभागी हुन सकेका थिएनन्।
आइतबार स्वास्थ्यमा केही सुधार आएको भनिएपनि फेरि सोमबार बिहानी एक्कासी छातिमा समस्या देखिएको हो। ११ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य अवस्था यसैपनि संवेदनशील मानिन्छ।
प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ। थप विवरण आउन बाँकी छ ।