काठमाडौं, मंसिर ३: प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका ६ कार्तिकमा उद्घाटन गरेका बिजुली बस एकाएक गायब भए। उद्घाटनको तामझाम र प्रधानमन्त्री केपीशर्मा ओलीको भाषण सुनेर धेरैलार्इ लाग्यो अब भोलिदेखि नै बिजुली बस चढ्न पाइन्छ।
उद्घाटनको झण्डै एक महिना पुग्न लागेको छ। तर, ती बिजुली बस कता गुड्दैछन् भन्ने आम चासो बढीरहेको छ। तर उद्घाटन भएको एक महिना पुग्न लाग्दा समेत बिजुली बस साझा यातायातको प्राङ्गणमा थन्किएका छन् भने केही बस ग्यारेजमा छन् ।
लुम्बिनी विकास कोषले एसियाली विकास बैंकको सहयोगमा बीवाईडी कम्पनीका पाँचवटा बस सञ्चालनमा ल्याएको हो। तर लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल नबनेसम्म थन्क्याएर राख्नुभन्दा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा ल्याउने सहमति भएको थियो ।
सञ्चालनको लागि साझा यातायात र लुम्बिनी विकास कोषबीच मौखिक सम्झौता भइसकेको छ। तर पनि लिखित सम्झौता नभएसम्म त्यसलाई सञ्चालनमा ल्याउन नमिल्ने साझा यातायात सञ्चालक समितिका कार्यकारी निर्देशक भुषण तुलाधरले जानकारी दिए।
‘दसैँ तिहारको कारण सम्झौता हस्ताक्षरमा ढिलो भएको हो’, उनले भने, ‘लुम्बिनी विकास कोषको बोर्डले स्वीकृत गर्नुपर्नेमा बोर्डको बैठक बसेको छैन । मन्त्रीज्यूको अध्यक्षतामा बोर्ड बैठक बस्ने हो, तर उहाँ व्यस्त भएकोले ढिलो भएको हुनसक्छ ।’
लिखित सम्झौताबाहेक बस सञ्चालनको लागि प्राविधिक र प्रशासनिक काम केही भएको छैन्। नेपालमा बिजुली बस सञ्चालन नयाँ भएकाले यसको लागि प्राविधिकहरुलाई तालिम दिने काम पनि भइरहेको उनले बताए।
चिनियाँ प्राविधिक टोलीले यहाँको भूगोलमा यसको प्रभाव परीक्षण गरिरहेका छन्। बस चार्ज गर्नको लागि स्टेसन निर्माण पनि भएको छैन। त्यसको लागि शहरको अवस्थालाई परीक्षण गर्ने काम भइरहेको र चार्जिङ स्टेसन राख्नको लागि विद्युत प्राधिकरणसँग सम्झौता भएको निर्देशक तुलाधरले जानकारी दिए।
‘एकपटक बस चार्ज हुन चारघण्टा लाग्ने भएकाले कम्तीमा पनि तीनवटा चार्जिङ स्टेसन आवश्यक पर्छ’, उनले भने, ‘बस चार्जिङको व्यवस्था राति गर्ने गरेर सल्लाह भइरहेको छ । स्टक बिजुलीलाई बसको लागि खपत हुने गरी चार्जिङको व्यवस्था राति गरिनेछ ।’
यस्तै बस दर्ता गर्ने कामदेखि लिएर अन्य प्रशासनिक कामहरु पनि बाँकी नै छन्। बसको बिमा गरिएको छैन। अहिले ब्लू बुक पनि कोषकै नाममा छ। त्यो सबै काम सकेर बस सञ्चालनमा ल्याउन अझै केही महिना पर्खनुपर्ने तुलाधरले बताए। उनले भने, ‘यति नै पछि सञ्चालनमा आउँछ भन्न सकिन्न, माघसम्म पनि लाग्न सक्छ।’
अहिले काठमाडैंमा ल्याइएका बिजुली बस लुम्बिनी विकास कोषका हुन्। लुम्बिनीलाई स्वच्छ पर्यटकीय नगरी बनाउने योजनाअनुरुप एशियाली विकास बैंकको आर्थिक सहयोगमा यी बस सञ्चालनमा आउन थालेका हुन् ।
गौतमबुद्ध बिमानस्थल निर्माण नभएसम्म साझा यातायातले चलाउने सम्झौताअनुरुप बस काठमाडौं ल्याइएका हुन् । बीवाइडी कम्पनीको ग्यारेज र यसको प्राविधिक टोली सबै काठमाडौंमै भएकाले यी बसलाई यहाँ ल्याइएको हो।
साझा यातायातले चिनियाँ कम्पनीसँग थप विद्युतीय बस खरिदको लागि गृहकार्य गरिरहेको छ । लुम्बिनी विमानस्थल नबनेसम्म कोषका बसहरु काठमाडौंमै चल्नेछन् र त्यतिबेलासम्म साझा यातायतले आफ्नै विद्युतीय बस ल्याउने तयारी गरेको छ।