प्रधानमन्त्री ओलीलाई १० दिनसम्म लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने

| 2020 Mar 07 | 07:37 am 1601

काठमाडौं, फागुन २४: प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।

६९ वर्षीय प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । भात र मासुको झोल दिइएको छ । बिहान उनले चिया–बिस्कुट खाएका थिए । यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्तर्गत नै बिरामीलाई हिँडडुल गराइन्छ । यही गतिमा सुधार हुँदै गयो भने ७ देखि १० दिनसम्ममा उहाँलाई डिस्चार्ज गर्छौं, प्रधानामन्त्रीकी निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले भनिन्, उहाँको स्वास्थ्य स्थिति ठीक छ । स्थिर छ । प्रधानमन्त्रीको शरीरले मिर्गौला प्रत्यारोपणपछिको शरीरले देखाएको प्रतिक्रिया र सुधारको गति सन्तोषजनक रहेको डा शाहले बताइन् ।

प्रधानमन्त्री ओलीले शल्यक्रियापछि पहिलो पटक शुक्रबार चिकित्साकर्मीबाहेकका सँग फोनमा कुराकानीसमेत गरेका छन् ।

डा शाहले नै आफ्नो फोनमा प्रधानमन्त्री र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच कुराकानी गराएकी थिइन् । करिब दुई मिनेटको कुराकानीमा प्रधानमन्त्रीले आफूलाई ठीक रहेको जानकारी दिँदै आफू छिट्टै काममा फर्किने बताएका थिए ।

अस्पतालमा भएको बिरामीको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीलाई हाल मोबाइल फोन दिइएको छैन । बिरामीले के गर्ने के नगर्ने प्रोटोकललाई प्रधानमन्त्री ओलीले समेत पालना गरिरहेको डा शाहले बताइन् । अन्नपूर्ण पोस्ट दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.