प्रधानमन्त्रीले केसीसँग भने– ‘निजी मेडिकल कलेजसँग गाँसेर मलाई नहेर्नुस्’

| 2018 Aug 12 | 07:48 am 1480

प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राडा गोविन्द केसीलाई प्रस्ताव गरेका छन् ।

हिजो बालुवाटारमा भएको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै डा. केसीलाई नेतृत्व लिएर काम गर्न आग्रह गरेका हुन् ।

तर, आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा प्रधानमन्त्री ओलीलाई भेटेर धन्यवाद दिन बालुवाटार पुगेका डा केसीले आफूले त्यस्तो कुनै नेतृत्व नलिने बरु योग्य साथीहरूलाई जिम्मा दिन प्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले चिकित्सक केसीलाई सम्झाउने शैलीमा ‘म प्रधानमन्त्री भएका बेला तपाईं अनशन नै बस्नुपर्ने थिएन, माग पूरा गराउन अरु धेरै विकल्प थिए र छन्’ भन्दै ‘जनताको स्वास्थ्य सेवासँग गासिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ’ भन्ने प्रस्ताव अघिसारेका थिए । प्रधानमन्त्री ओलीले केसीलाई भने, ‘त्यसको कमाण्ड तपाई सम्हाल्नुस्, दुर्गमका जनतामा स्वास्थ्य सेवा पु¥याउन अवरोध गर्ने विरुद्ध डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।’

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कैयौँ योग्य चिकित्सक र प्रशासक रहेको केसीले दोहोर्याएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य तथा शिक्षामाथि आफ्नो संकल्प र प्रतिबद्धता कमजोर नरहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सीमित रहनुपर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न केसीलाई आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.