झापा, माघ १७ : कम्युनिष्ट सरकारले नै बृद्धभत्ताको सुरवात गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट भाषणबाट जेष्ठ नागरिकको बृद्धभत्ता बृद्धि गर्ने घोषणा गरेका छन् । आगामी जेठ १५ गतेको बजेट भाषणमा बृद्धभत्ता बृद्धि हुने बताए।
दमक नगरपालिकाले आजदेखि शुरु गरेको पाँच दिने प्रदेशस्तरीय वृहत बाल महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको बताए ।
अव देशको चिन्ता कसैले लिनु पर्ने दिन कहिल्यै नआउने प्रधानमन्त्री ओलीले जानकारी दिए । सरकारले चौतर्फी रुपमा तीव्र गतिले काम गरेको छ, त्यसैले अव कसैले पनि देशको चिन्ता लिने दिन नआउने बताए। अहिलेको सरकार बालबालिका मैत्री, युवा किशोरहरुको निमित्त काम गर्ने, गरिबहरुको लागि काम गर्ने , उद्योगी, किसान, मजदुर सबैका लागि हित गर्ने रहेकाले यो सरकार देश विकासका लागि नेतृत्व गर्न तयार रहेको र गरिरहेको बताए ।
वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीबाट नेपालले फड्को मार्ने जोड दिए । देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडी बढेको बताउँदै विकास र समृद्धिको महान यात्रामा अव सबै नेपालीहरु एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालका खानीहरुको उत्खनन् गर्ने, कृषिलाई आधुनिक र व्यवसायीकरण गर्दै समृद्धि नेपाल सुखी नेपालको लक्ष्य प्राप्त गर्ने बताए।
यस बालमहोत्सवले बालबालिकाहरु भित्रका लुकेका प्रतिभाहरुलाई उजागर गर्ने अवसर भएको बताए । यस्ता महोत्सवहरु आफना क्षेत्रको पहिचान संगै देशको आर्थिक विकासमा सघाउ पुर्याँउन सहयोग हुने माध्यम भएको प्रधानमन्त्रीको भनाई रहेको छ ।
उक्त कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान लक्ष्य प्राप्तिका लागि सबै एक भएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताए । त्यस्तै नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बालमहोत्सव उद्घाटनमा नगर उपप्रमुख तथा बालमहोत्सव मूल समितिका संयोजक गीता अधिकारीले बालमहोत्सव बालमैत्री नगर बनाउन यसले सघाउ पुग्ने बताए ।