-
महेन्द्र पाण्डे
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला गम्भीर बिरामी छन् । उनका दुवै मृगौलाले काम गरेका छैनन् । शरीरमा रहेका विशाक्त पदार्थलाई छानेर दिनदिनै फाल्ने काम मृगौलाको हो । तर प्रधानमन्त्री ओलीका मृगौलाले काम गर्न छाडेको चिकित्सकहरुले बताएका छन् । यस्तो अवस्थामा मेसिनको प्रयोग गरेर शरीरमा रहेका बिशाक्त पदार्थ फाल्नुको विकल्प रहँदैन । जुन प्रक्रियालाई डाइलोसिस् भनिन्छ । प्रधानमन्त्री ओलीको शरीरलाई अहिले यही प्रक्रिया प्रयोग गरी विशाक्त हुनबाट चिकित्सकहरुले जोगाइरहेका छन् । मृगौलाले काम गर्न छाडे पनि डाइलोसिस् गरेर केही वर्ष मानिसलाई चिकित्सकहरुले बचाउँने गरेका छन् । प्रधामनमन्त्री ओलीको हकमा पनि चिकित्सकहरुले विशेष ध्यान दिएका छन् । नियमित अस्पताल धाएर डाइलोसिस गराई रहने समय प्रधानमन्त्री सँग हुँदैन , त्यसैले प्रधानमन्त्री निवास वालुवाटारकै एउटा कक्षमा डाइलोसिस् मेसिन राख्ने तयारी सरकारले गरेको छ ।
डाइलोसिस् बाहेक अर्को विकल्प नभएको भने होइन । भरपर्दो दाता फेला परेको अवस्थामा मृगौला प्रत्यारोपण गर्न पनि सकिन्छ । १२ वर्ष अघि प्रधानमन्त्री ओलीले आफ्नै भाई बुहारीको एउटा मृगौला प्रत्यारोपण गराएका हुन् । प्रत्यारोपण गराईको त्यो मृगौलाले १२ वर्ष पछि अर्थात गत साउन देखि काम गर्न छाडेपछि समस्या उत्पन्न भएको हो । अब फेरी अर्को मृगौला प्रत्यारोपण गर्न नमिल्ने होइन तर त्यसका लागि प्रधानमन्त्री ओलीको कमजोर शरीरले धान्न सक्छ कि सक्दैन ? भन्ने प्रश्न पनि गम्भीर बनेको छ । करिव डेढ वर्ष अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको मृगौला खरावीका कारण निधन भएको थियो । १२ वर्ष अघि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाड्यो , उमेर तथा शारिरिक अशक्तताका कारण दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न संभव भएन । प्रधानमन्त्री ओलीको पनि करिव करिव यस्तै समस्या रहेको चिकित्सकहरुको भनाई छ ।
मानिसलाई रोग लाग्नु , बिरामी हुनु सामान्य प्रक्रिया हो । मुलुकका ३ करोड जनसख्या मध्ये करिव ३० प्रतिशतले शरीरमा कुनै न कुनै रोग लिएका होलान । मुलुकभरीका अस्पतालको तथ्यांक लिने हो भने करिव १० लाख रोगी त बिरामी भएर बेडमा थला परिरहेका होलान । त्यसैले रोगी हुनु र विरामी हुनु असमान्य प्रक्रिया होइन । तर सबैको हकमा असामान्य मान्न भने सकिन्न । उदाहरणका लागि हाम्रो मुलुकको प्रतिनिधिसभामा सांसदको संख्या २ सय ७५ छ । यसमध्ये ४–५ जना बिरामी भएर अस्पतालको बेडमा सुत्दा पनि संसद ठप्प हुँदैन । बाँकी सांसदहरुले आफ्नो काम गरिरहेका हुन्छन् । अहिले पनि ४–५ जना सांसदहरु निलम्बित अवस्थामा छन् , प्रतिनिधिसभाको काम रोकिएको छैन । जब कुनै एउटा पदमात्रै हुन्छ र त्यो पदमा एउटा व्यक्ति मात्रै हुन्छ तब उसको अनुपस्थितिमा वा उ विरामी तथा अशक्त हुँदा सबै काम ठप्प हुन्छ । उदाहरणका लागि सभामुखकै लिउँ । यतिबेला सभामुख पद रिक्त छ , धेरै महत्वपूर्ण काम अड्केका छन् । कार्यवाहक सभामुखले ति काम गर्न संवैधानिक रुपमा मिल्दैन ।
प्रधानमन्त्री पद त सभामुख भन्दा पनि कयौं गुणा महत्वपूर्ण पद हो । मुलुकको कार्यकारी प्रमुख भएका नाताले प्रधानमन्त्रीका जिम्मेवारीहरु निकै धेरै छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा कतिपय महत्वपूर्ण काम उपप्रधानमन्त्री तथा कार्यवाहक प्रधानमन्त्रीले गर्न मिल्दैन । प्रधानमन्त्री पदमा मानसिक रुपमा अशक्त व्यक्ति बस्न नमिल्ने व्यवस्था त संविधानले स्पष्ट शब्दमै गरेको छ , साथै शारिरिक रुपमा अशक्त व्यक्ति समेत प्रधानमन्त्री पदमा बस्न नमिल्ने व्यवस्था संविधानले अप्रत्यक्ष रुपमा गरेको छ । बसेर गर्न नमिल्ने , उठेरै गर्नु पर्ने कतिपय काम प्रधानमन्त्रीको जिम्मामा हुन्छन् । घण्टौसम्म उठेर बोल्नु पर्ने हुन्छ , भेटघाट गर्नु पर्ने हुन्छ । अनुगमन तथा निर्देशन दिनु पर्ने हुन्छ । तसर्थ प्रधानमन्त्री शारिरिक रुपमा पनि त्यतिकै सशक्त हुनु जरुरी छ । तर विडम्वना यतिबेला प्रधानमन्त्री ओलीको शारिरिक अशक्तताका कारण मुलुक ठप्प जस्तै छ ।
रोगको प्रकृति हेर्दा प्रधानमन्त्री ओलीलाई कम्तीमा एक वर्ष आरामको जरुरी रहेको, कसैसँग भेटघाट गर्न समेत नहुने अवस्था रहेको चिकित्सकहरु बताउँछन् । प्रर्याप्त आराम नगरे ज्यान जान सक्ने समेत खतरा रहेको चिकित्सकहरुले बताइ रहेको अवस्थामा सत्तारुढ नेकपा प्रधानमन्त्री ओली प्रति खासै गम्भीर देखिएको छैन । ओलीलाई अझै जोतिरहने मानसिकतामा नेकपाका नेताहरु देखिएका छन् । धेरै आराम र विश्रामको खाँचो रहेको अवस्थामा यसरी जोत्नु मानवियता होइन । अमानवियताको परकाष्टा हो । नेकपाका नेताहरु कत्ति पनि संवेदनशील रहेनछन् भन्ने यसले देखाउँछ । किन दुख दिँइँदै छ प्रधानमन्त्री ओलीलाई ? ओली आँफैले आराम गर्न नचाहेका हुन् या पार्टीका अरु नेताहले उनलाई आरा नगर्न नदिएका हुन् ? यर्थात विवरण मिडियाहरुले पनि बाहिर ल्याउन सकेका छैनन् । प्रधानमन्त्रीको अनुभव बटुलेका अरु तीन जना नेता समेत नेकपामा छन् । प्रधानमन्त्रीको कार्यभार संहाल्न सक्ने चलाउन सक्ने करिव १ सय जना नेता नेकपामा छन् । तर विचरा ओलीले पालो पाउन सकिरहेका छैनन् ।
यो अवस्थाले निरन्तरता पायो भने प्रधानमन्त्री ओली स्वयंको साख घट्दै जाने छ । राज्य कोषबाट उपचारको सुविधा लिनका लागि अशक्तताका बाबजुद प्रधानमन्त्री पदमा टाँसिइरहेको आरोप प्रधानमन्त्री ओली माथि लाग्यो भने बडो दुर्भाग्य हुनेछ । यो मामिलामा प्रधानमन्त्री ओलीले विशेष ध्यान दिनै पर्छ । धेरै टाढाको इतिहासमा जानै पर्दैन । २०४६ सालको जनआन्दोलन सफल हुनासाथ तत्कालिन राजा वीरेन्द्रले राजनीतिक दलका शीर्ष नेताहरुलाई दरवारमा बोलाए । गाणेशमान सिँहलाई अनुरोध गर्दै भने–‘ प्रधानमन्त्री पद संहाल्नोस् ।’ गणेशमान सिँहले आफ्नो उमेर तथा स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पद अस्वीकार गरे । उनले भने –‘ म ७० पुगेर ७१ वर्ष लागिसकेँ , रोगी पनि छु । दिनको एक घण्टा त शौचालयमै विताउनु पर्छ , मुलुकको यति ठूलो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ ?’ त्यतिबेला गणेशमान सिँह शारिरिक रुपमा जति सवल थिए त्यसको ५ प्रतिशत सवल पनि अहिलेका प्रधानमन्त्री ओली छैनन् । प्रधानमन्त्री पदमारहेको अवस्थामा अब सवल हुने संभावना पनि कम छ ।
यसरी शारिरीक रुपमा अशक्त हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदमै टासिएर देशलाई नै अशक्त बनाउनु भन्दा मार्ग प्रसस्त गरेर आफ्नै पार्टीका अन्य नेतालाई जिम्मेवारी सुम्पिएर आराम गर्दा उहाँको शरिरले जति आराम पाउँथ्यो देशले पनि तिब्र गतिमा निकास पाउँथ्यो कि !