काठमाडौँ ८ जेठ / बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे अनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङ सहितको घर छ । सम्पत्ति विवरणमा उल्लेख गरिए अनुसार स्वर्गीय धर्मपत्नी सीता दाहालको नाममा रहेको घर र जग्गा पैतृक सम्पत्ति भएको जनाएका छन् । यसलाई उनले पैतृक सम्पत्तिका रुपमा उल्लेख गरेका छन् ।
भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।
एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात आफ्नो नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको उल्लेख छ ।