प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्छुः परराष्ट्रमन्त्री साउद

| 2023 Apr 16 | 05:33 pm 1401

काठमाडौं, बैशाख ३ः परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे तयारी थाल्ने बताएका छन्।

पदभारग्रहण पछि मन्त्रालयमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री साउदले मन्त्रालयका अधिकारीसँग छलफल गरेर भ्रमणबारे तयारी थाल्ने बताएका हुन्।

साउदले भने, ‘मन्त्रालयका कर्मचारीसँग सुरुमा ब्रिफिङ लिन्छु। त्यसपछि हामी छलफल अगाडि बढाउछौं। प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी गरिरहेका कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउँछु।’

साउदले आगामी दिनमा छिमेकी र विश्वभरीका देशको सम्बन्धलाई घनिष्ट र सौहार्दपूर्ण बनाउँदै लैजाने बताए। साउदले भने, ‘नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशहरूसँग सौहार्दपूर्ण सम्बन्ध रही आएको छ। आगामी दिनमा पनि छिमेकी र विश्वभरीका देशको सम्बन्धलाई घनिष्ट र सौहार्दपूर्ण बनाउँदै लैजानेछौं।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.