काठमाडाैं, जेठ ३ः प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले सोमबार रिट दर्ता गरेको बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बताए ।
गत वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले रिट हालेका हुन् । रिट उपर मंगलबार सुनुवाइ हुनेगरी पेशी तोकिएको बताइएकाे छ ।
प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका हुन् ।
प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् । रिट निवेदकले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने माग गरेका छन् ।