काठमाडौं, साउन १८ : संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । समितिको शुक्रवार बसेको बैठकको २ तिहाइ बहुमतले जोशीलाई अस्वीकृत गरेको हो ।
शुक्रबार बिहानदेखि सुनुवाइ समितिकाे कार्यालय सिंहदरबारमा बैठक भएको थियो। आजैकाे पहिलो चरणमा बसेको बैठक मतदानका लागि भन्दै १५ मिनेट स्थगित गरिएको थियो। मुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन ।
समितिमा कांग्रेसका ४ सदस्य छन् । यस्तै नेकपाका ९ र फोरम तथा राजपाका १-१ सदस्य रहेका छन् । कांग्रेसले बैठक बहिष्कार गरेर हिँडेपछि जोशीको पक्षमा एक मत पनि परेन । बिहान १० बजेदेखि सुरु भएको संसदीय सुनुवाई समितिको बैठक लामो समय बित्दा पनि अनिर्णित बनेपछि जोशीबारे मतदानबाट टुंगो लगाएकाे हाे ।
प्रधानन्यायाधीशका लागि सिफारिश भएका जोशीको अघिल्लो बिहीबार संसदीय सुनुवाइ भएको थियो। सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीले एक हप्तासम्म पर्खनुपर्यो। तर, पनि निर्णय उनको पक्षमा आएन।
अघिल्लो बिहीबार सकिएको सुनुवाइपछि भोलिपल्ट शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो। फेरि, सोमबारका लागि बैठक तोकिएको थियो। बैठक बुधबार पनि बस्यो। तर, निष्कर्ष निस्किएन। अन्ततः आजको बैठकले एक हप्तायताको अन्योललाई निष्कर्ष प्रदान गरेको छ।