काठमाडौँ, साउन १४ : प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । आज बसेको समितिको बैठकमा कुनै निर्णय भएन ।
संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेकाले निर्णय हुन नसकेको जानकारी दिए ।
समितिका सत्ता पक्ष र विपक्षी सांसदहरुको राय बाझिएपछि बैठक सारिएको हो। अर्को बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।गत बिहीबारै जोशीको सुनुवाई सकिएपनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय सुनाउन सकेको छैन ।
बैठकमा पूर्व महान्याधीवक्ता हरि फुयाँल, अधिवक्ता टिकाराम भट्टराई, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देब गुरुङसहित सुनुवाई समितिमा रहेका ९ सांसद सहभागी थिए ।
जोशीको प्रमाणपत्र र फैसलाहरु विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्ट जनाएका थिए ।