प्रदेश नं. ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम प्रदेश दुई तिहाईले स्वीकृत भएको घोषणा भएको छ । प्रदेश नम्बर सातको प्रदेश सभा बैठकले स्थायी राजधानी गोदावरी र नाम सुदुरपश्चिम प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ स्थित तेघरीमा राख्ने निर्णय गरेको हो।
प्रदेशको नाम र राजधानी सिफारिसका लागि सांसद तारा लामा तामाङ संयोजकत्वमा गठित समितिकै सिफारिसलाई प्रदेश संसदको बैठकले पास गरेको हो । स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानीदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।
प्रदेश ७ मा नेकपाको दुईतिहाइ बहुमत रहेको छ। तर समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले भने असहमति जनाएका छन् ।
प्रदेशको नाम र राजधानीमा सहमति नजुटेपछि संसदको बहुमतले यसको टुंगो लगाएको हो । प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’कायम गर्ने पक्षमा ३८ मत खस्दा यसको विपक्षमा रहेका १४ सांसद मतदानमा सहभागी भएनन् । प्रदेश ७ मा ५३ जना सांसद रहेकोमा प्रदेशको नाम र राजधानी पारित गर्न ३६ मत भए पुग्थ्यो । तर २ मत बढी अर्थात् पक्षमा ३८ मत खस्यो ।
आज विहान ११ बजेबाट सुरु भएको बैठक प्रतिपक्षीको विरोधको कारण बीचमा स्थागित गरिएको थियो । पुनः सञ्चालन भएको बैठकमा पनि विरोधपछि वहिष्कार गरिएपछि सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको बहुमतबाट स्वीकृत गरिएको घोष्णा गरिएको हो ।
।