बुटव, असार १३ : बधुबार प्रदेश ५ को प्रदेशसभाको बैठक प्रतिपक्षबिना नै चलेको छ । बजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिबिनै प्रदेश नम्बर–५ को प्रदेशसभा बैठक चलाइएको हाे ।
कांग्रेसका प्रदेशसभा सदस्यहरुले छलफलकाक्रममा पनि आफूहरुलाई पछाडि राखेको भन्दै बहिस्कार गरेका हुन् । प्रतिपक्षी प्रदेश सभा बैठकमा उपस्थित नभएपनि बुधबारको बैठकमा सत्ता पक्षका १८ जनाले विनियोजन विधेयक माथिको छलफलमा भाग लिएका छन्।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले भने संसदीय दलको कार्यालयमै पत्रकार सम्मेलन गर्दै सत्तापक्षले बहुमतको दम्भमा बैठक सञ्चालन गर्न खोजेको बताएको छ।
विपक्षी दलको विरोधका कारण मंगलबारको बैठक सूचना टाँसेर स्थगित भएको थियो। पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारले प्रतिपक्षीको कुरा नसुने संसद र सडक दुवैमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। सत्तापक्षकै छलफलपछि प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
सोमबारदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सत्तापक्षकै एक दर्जन प्रदेशसभा सदस्यले बजेट समावेशी र सन्तुलित नभएको भन्दै आलोचना गरेका थिए ।