प्रदेश २ सरकारले अब जन्मिने छोरीको बीमा गर्ने

रिपोर्ट नेपाल | 2018 Dec 22 | 05:05 pm 1974

पर्सा, पुस ७ :  प्रदेश नं २ को सरकारले छोरी पढाउने र बढाउने कुरालाई अभियानका रुपमा लैजाने भएको छ । शनिबार वीरगंजमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गरेका छन् । प्रदेश सरकारले थालनी थरेको “बेटी बचाइ, बेटी बढाइ” अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको बताएका छन्।

वीरगंज पब्लिक कलेजले आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा योजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गद्दीले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिएको र निजामतीमा समेत आरक्षण दिने तयारी गरिएको मुख्यमन्त्री गद्दीको जोड रहेको थियो ।

औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले प्रदेश नं २ लाई प्रविधिक शिक्षाको केन्द्रविन्दु बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी दिएका छन् ।

वीरग‌ंज पब्लिक कलेजका प्रबन्धक दीपक शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट एमविए, एमविएस, विविए, विविएस उत्तीण गरेका १ सय ३१ जना विद्यार्थीलाई मुख्यमन्त्री गद्दीले प्रमाणपत्र प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.