प्रदेश २ मा एमाले-माओवादी दुवैलार्इ संसदीय सुविधा

रिपोर्ट नेपाल | 2018 Oct 09 | 07:41 am 3634

जनकपुरधाम, असोज २२ : केन्द्रदेखि प्रदेशमा एमाले माओवादी एकता भएको जानकारी गराएको नेकपाले भने प्रदेश नम्बर दुर्इमा भने एमाले र माओवादीको नामबाट अलग अलग संसदीय सुविधा लिइरहेका छन्।

नेकपा प्रदेश नं २ को समितिका संयोजक प्रभु साहले प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताएका छन्। समितिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा साहले पूर्वएमाले र माओवादीका संसदीय दलका सचेतकबीच सहमतिको प्रयास जारी रहेको बताए।

प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सहमति नभए चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गरिने बताउँदै अहिले प्रदेशको विधान तयार पार्ने कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको जानकारी दिए।

यसैबीच जिल्ला तहमा पार्टी एकीकरणका लागि कार्यदल गठन गरिएको बताइएको छ । कार्यदलमा धनुषा जिल्लाका लागि श्रवण यादव, रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर साह तथा महोत्तरी जिल्लामा योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसा ढुङ्गाना रहेका छन्।

त्यस्तै सर्लाही जिल्लाका लागि कमलादेवी महतो, रेवती पन्त र शिवपूजन यादव तथा सिरहा जिल्लाका लागि लीलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशङ्कर नायकलाई कार्यदलमा राखिएको छ । पर्सा जिल्लाका लागि रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादव तथा बारा जिल्लाका लागि गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलवीर चौधरी र सुन्दर विश्वकर्मा कार्यदलमा छन्।

रौतहट जिल्लाका लागि युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खड्का र कमल यादव तथा सप्तरी जिल्लाका लागि अशोक मण्डल, महेश यादव, रामप्रीत पासवान र गोविन्द न्यौपानेलाई कार्यदलमा राखिएको छ । संयोजक साहले पूर्वएमाले र माओवादी दुवै दलबाट पर्ने गरी कार्यदल गठन गरिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.