काठमाडौं, भदौ ६: प्रदेश नम्बर १ र ५ मा आज सार्वजनिक बिदा दिइएको छ । बकर इदका अवसरमा दुवै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए।
मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो ।
यस्तै प्रदेश नम्बर ५ को आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना निकालेर मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।
यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए ।