माेरङ, मंसिर ९ः प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सिकाइलाई निरन्तता दिने उद्देश्यले ‘हेलो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो ।
कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि मन्त्रालयले टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरेको हो । मोबाइलबाट शिक्षकले विद्यार्थीलाई सिकाउने र विद्यार्थीले शिक्षकलाई नबुझेको कुरा सोध्न सक्ने गरी कार्यक्रमको प्रबन्ध गरिएको छ । पहिलो चरणमा तीन महिनाका लागि शुरु गर्न लागिएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारी रहनेछ ।
मन्त्रालयले चाँडै कार्यक्रम शुरु गर्नका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए । उनका अनुसार धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम र तेह्रथुमका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिनेछ । धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए ।
नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सीयूजी सिममार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाइ छ। विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सीयूजी सिममा १ सय २९ रुपियाँले १ महिना पुग्ने उनले बताए । बुढाथोकीका अनुसार विद्यार्थीका लागि सित्तैंमा सिम दिइनेछ र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिनेछ । नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ ।
स्थानीय तहका २ सय ५० शिक्षक र ५ सय विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए । उनका अनुसार विद्यार्थी छनोट गर्दा गरिबभित्रको पनि गरिबलाई छनोट गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । नेपाल समाचारपत्रबाट