प्रदेश १ मा चर्कियो राजधानी विवाद

रिपोर्ट नेपाल | 2018 Oct 02 | 08:04 am 1835

विराटनगर, असोज १६: राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ। मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो। अस्थायी राजधानी विराटनगरबाट संरचना विकेन्द्रित गर्ने/नगर्नेबारे सरकार, सांसद, दलका नेता, नागरिक समाज र उद्योगी व्यापारीबीच मतभेद भएको छ। यसअघि अस्थायी राजधानी तोक्ने वेलामा विभिन्न स्थानमा आन्दोलन भएको थियो।

नाम र राजधानी टुंगो लगाउन चौतर्फी दबाब बढेपछि प्रदेश सरकारले चालू अधिवेशनभित्रै राजधानी टुंगो लगाउने प्रतिबद्धता जनाएबमोजिम छलफल तीव्र बनाएको छ। तर, मुख्यमन्त्रीको प्रस्तावमा ५ मध्ये ३ मन्त्रीले असहमति जनाएका छन्।

स्रोतका अनुसार सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो र सामाजिक विकासमन्त्री जीवन घिमिरेले राजधानी विकेन्द्रित गर्ने मुख्यमन्त्रीको प्रस्ताव उपयुक्त नभएको तर्क गरेका छन्। सहमति नभए प्रदेश सभाको बहुमतबाट निर्णय गर्ने तयारी सरकारको छ।

विराटनगरबाट राजधानी सार्ने वा संरचना विकेन्द्रित गर्ने विषय जबरजस्ती अगाडि बढाए प्रत्युत्पादक हुने चेतावनी प्रमुख प्रतिपक्षी कांग्रेसले दिएको छ। कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले १४ असोजको प्रदेश सभा बैठकमा विशेष समय लिएर भने, ‘विपक्षी दल र सरोकारवालासँग कुनै परामर्श नगरी राजधानीको नाममा सरकारले के पकाइरहेको छ, सदनलाई जस्ताको तस्तै जानकारी दिनुपर्छ।’

बृहत विराटनगरका नाममा राजधानीका संरचना विकेन्द्रित गर्ने प्रयास प्रदेश र प्रदेशवासीको हितविपरीत हुने कांग्रेसका अर्का सांसद सूर्यमाराज राईको दाबी छ । राईले भने, ‘बहुमतको नाममा ह्विप लगाएर सरकारले चलखेल गरे प्रतिपक्ष टुलुटुलु हेरेर बस्नेछैन।’ राजधानी र नामाकरण टुंग्याउन ढिला भइरहेको भन्दै कांग्रेस सांसदहरूले राजधानी छरपस्ट पार्ने प्रयास संघीयताको मर्म र भावनाविपरीत हुने जिकिर गर्दै आएका छन्।

मोरङका सबै सांसद र नेता विराटनगरबाट राजधानी सार्न वा संरचना विकेन्द्रित गर्न नहुने पक्षमा छन्। मोरङ–५ बाट निर्वाचित सांसद शिवकुमार मण्डलले विराटनगरबाट राजधानी अन्यत्र सारिए सुरक्षा कमजोर हुने र संघीयता पनि दिगो नहुने जोखिम उच्च हुने बताए। मोरङ–४ बाट निर्वाचित सांसद अमनलाल मोदीले राजधानी अन्यत्र सार्दा वा संरचनाहरू विकेन्द्रित गर्दा झन् समस्या थपिने बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आर्थिक, व्यापारिक, सामाजिक सबै दृष्टिले विराटनगर प्रदेश राजधानीका लागि योग्य भएकाले अयन्त्र राजधानी सार्न नहुनेमा जोड दिए।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा प्रदेश सांसद जयराम यादवले पनि स्थायी राजधानी विराटनगरमै हुने र मन्त्रालयहरू अन्यत्र भागबन्डा गरिए सेवा प्रवाहमा झन् समस्या हुने बताए।

प्रदेश सांसद सावित्राकुमारी रेग्मी, कुलप्रसाद साम्बा, यशोदा अधिकारीलगायतले पनि राजधानीका लागि विराटनगरको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, नेकपाका केन्द्रीय सदस्यहरू विनोद ढकाल, महेश रेग्मी, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष मोहमद कादिरलगायत सबैको एउटै दाबी छ, ‘प्रदेशको राजधानीका लागि विराटनगरको विकल्प छैन।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.