प्रदेश सरकार जनताको अपेक्षा सम्बोधन गर्ने बन्न सकेकाे छैन

रिपोर्ट नेपाल | 2019 Feb 15 | 03:36 pm 1572

बुटवल, फागुन ३ :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार जनताको अपेक्षा सम्बोधन गर्ने खालको नभएकाे बताए । प्रदेश ५ सरकार स्थापना दिवसको कार्यक्रममा उनले केन्द्रीय सरकारले प्रदेशलाई कम अधिकार दिएकाेले प्रदेश सरकारले जनताको अपेक्षा सम्बोधन गर्न नसकेकाे बताएका हुन् ।

‘हाम्रो संविधानले तोकेका केही कानून बाझिएका छन् । त्यसलाई संशोधन गर्ने अवधि फागुन मसान्तसम्म तोकेको हुनाले त्यो काम नै बाँकी छ”, पोखरेलले भने, “फागुन पछाडि मात्रै प्रदेशले प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुन्छ । त्यसपछि जनताले हामीसँग के अपेक्षा गर्ने भन्ने स्पष्ट हुन्छ ।”

उनले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको दावी समेत गरे । संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च भने घटेको दावी गरेका हुन् ।  ‘संघीयता वा प्रदेश सरकार देख्न नचाहनेले संघीयताले खर्च बढायो भनेर भ्रम छरेका छन्’ मुख्यमन्त्रीले भने, ‘तर विगतमा जनतालाई जिल्ला सदरमुकाम र राजधानी काठमाडौं धाउनुपर्दा लाग्ने सबै खर्च घटेको छ, यो कुरा हामीले बुझाउनुपर्छ ।’

यद्यपि जनता र स्थानीय तहले खोजी गर्ने राज्यको अङ्गका रुपमा प्रदेश सरकार स्थापित गर्न सफल भएको मुख्यमन्त्रीको जिकिर छ । उनले भने, “आम जनताको कोणबाट हेर्दा विकास निर्माण, सुशासन, शिक्षाको विकास, स्वास्थ्य संस्थाको सुधार तथा सामाजिक सङ्घसंस्था र सामाजिक सुरक्षा कार्यान्वयनका सन्दर्भमा आफूलाई परेका समस्या आफ्ना आकाङ्क्षा प्रदेश सरकारसमक्ष प्रस्तुत गर्ने वातावरण बनेको छ । प्रदेशको खोजी हुने अवस्था बनेको छ ।”

प्रदेश विकासका आधार 

आर्थिक र सामाजिक विकासका दृष्टिकोणले प्रदेश सरकार औसत अर्थात् बीचको अवस्थामा छ । त्यो हिसाबले प्रदेशले त्यति राम्रो खालको विरासत हासिल गरेको भन्न नमिल्ने बताएा । “हाम्रो प्रदेश एक प्रकारले भन्ने हो भने मिनी नेपालजस्तो बन्न खोजेको छ । हामीकहाँ हिमाली, पहाडी तराईको भूभाग छ”, उनले भने, “त्यो हिसाबले हेर्दा प्रदेश नं ५ मा विकास र समृद्धि सम्भव छ भन्ने कुरा स्थापित गर्न सक्दाखेरि सिङ्गो राष्ट्र समृद्ध बन्छ भन्ने कुराको विश्वास जगाउन सकिन्छ भन्ने लाग्छ ।”

प्रदेशको समृद्धिका लागि कृषिलाई अगाडि बढाउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमा जोड दिए । प्रदेश सरकारले त्यही सोचमा रहेर काम गरिरहेको बताए । प्रदेश सरकारले यस वर्ष तीन कार्यक्रम विशेष महत्वका साथ शुरु गरेको समेत सुनाए ।

प्रदेशमा ‘एक पालिका एक शीत भण्डार’ निर्माणको योजना अगाडि सारेकाे बताए । त्यस्तै जमीन नभएका किसानलाई समूह बनाएर आधुनिक व्यावसायिक खेती गर्न राज्यका तर्फबाट भाडावापतको जग्गा प्राप्त गर्न पैसा दिने र शुरुका वर्ष शतप्रतिशत अनुदान दिने कृषि करार खेती कार्यक्रम पनि अगाडि सारेकाे जानकारी दिए ।  उनले भने, “यसले कृषिमा केही गर्छु भन्नेका लागि प्रदेश नं ५ मा अवसर छ भन्ने खालको आधार तयार गर्छ । अर्कातर्फ हामीले उद्योग र व्यापारका सन्दर्भमा के सम्भावना देखेका छौँ, झण्डै चार-पाँच वटा प्रदेश अढाइ तीन घण्टाको दूरीमा पुग्न सक्ने ठाउँमा हामी छौँ ।”

प्रदेश सरकारले रुपन्देही, बाँके र दाङमा तीन औद्योगिक क्षेत्रको अध्ययन प्रक्रिया थालेको बतए  । उनले भने, ‘भन्सार नाका आधारित औद्योगिक करिडोरको निर्माणका लागि अध्ययन शुरु भएको छ ।’ यसले स्वाभाविक रुपमा भविष्यको औद्योगिक गतिविधिलाई विस्तार गर्ने काममा सहयोग पु¥याउने मुख्यमन्त्रीको भनाइ छ ।

प्रदेशमा कृषि, वन र खनिजमा आधारित उद्योगको सम्भावना र पर्याप्त मात्रामा चुनढुङ्गा भएका कारण सिमेण्ट उद्योगको बलियो सम्भावना रहेकाे पनि बताए। प्रदेशभित्र सञ्चालित राष्ट्रिय गौरवका आयोजना र केही ठूला आयोजनाको निर्माण प्रक्रियाले सन्तोषजनक गति लिएका छन् । गौतमबुद्ध विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा प्रदेश सरकारको विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.