प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन गुल्मी कांग्रेसको माग

| 2020 Oct 04 | 07:06 pm 2694

  • रमेश विश्वकर्मा

गुल्मी, असोज १८ः नेपाली कांग्रेस गुल्मीले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेको छ ।

हठात नेकपाको केन्द्रीय नेतृत्वको हस्तक्षेपमा प्रदेश ५ को मन्त्रीमण्डलले छलफलका लागि प्रदेशसभामा प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव पेश गरेको निर्णय फिर्ता लिन गुल्मी कांग्रेसले माग गरेको हो ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति मार्फत सो प्रस्तावको निर्णयले नेपाली काँग्रेस गुल्मी र सम्पूर्ण जिल्लावासीको गम्भीर ध्यान आकृष्ट उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस सरकारको पालामा प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवललाई तोकिएको थियो । विगतको सरकारले टुङ्गो लगाई सकेको राजधानीका विषयमा यस प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने यो प्रदेश सरकारको निर्णय निन्दनीय रहेको सभापति श्रेष्ठले बताए ।

सुझाव समितिको सुझावलाई समेत लत्याइ प्रदेशसभा सदस्यहरुलाई गुमराहमा राख्ने यो प्रस्ताव घोर अप्रजातान्त्रीक र कपटपूर्ण रहेको सभापति श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वशान्तीका अग्रदुत गौतमबुद्धको जन्मस्थल, व्यापारीक, सांस्कृतिक, धार्मिक र भौतिक विकासले सम्पन्न अत्यन्तै महत्वपूर्ण बुटवललाई राजधानी तोक्ने निर्णयले आम गुल्मीवासी अत्यन्तै हर्षित थियौं । अन्तरराष्ट्रिय विमानस्थलको सुगमता, भौतिक विकासको सहजता र ऐतिहासिक बटौलीको महत्वलाई प्रदेश राजधानीको रुपमा सुरक्षीत गर्न सके समग्र प्रदेशकै गरिमा र स्वाभीमान उचो हुनेछ ।

वर्तमान सरकारका जिम्मेवार व्यक्तिहरुद्वारा विगतमा चुनावी नारा बनाइएको प्रदेश राजधानी बुटवललाई नै तोक्ने आफ्नो प्रतिवद्धताबाट पछाडी हट्नु दुःखद रहेको उल्लेख गर्दै आममतदाता प्रति गम्भीर धोका भएको दाबी गरे ।

यति लामो समयसम्म अनिर्णयको बन्दी बनेको प्रदेश सरकारले संघीय नेतृत्वको हस्तक्षेपलाई स्वीकार गर्दै सोही आदेशको पूर्णपालना गर्नु संघीयताको मर्म विपरीत खेद जनक रहेको समेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सभापति श्रेष्ठले विगतमा तराईबाट पहाडका केही जिल्लालाई अलग गर्ने तत्कालीन आफ्नै सरकारको निर्णय विरुद्ध नेपाली कांग्रेस गुल्मी आन्दोलनको नेतृत्व गर्दै सडक संघर्षमा उत्रीएको स्मरण समेत गराए ।

सोही आन्दोलनको बलमा तराई र पहाडलाई जोडेर एकल ५ नं. प्रदेश बनाउन सरकार बाध्य भएको उल्लेख गर्दै उनले भने, आज यो प्रदेश र केन्द्रमा नेकपाको एकलौटी सरकार छ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गुल्मी जिल्लाको हित विपरीत राजधानी सार्ने जस्तो गम्भीर निर्णय हुँदै गर्दा सत्तासीन गुल्मी पार्टीनेतृत्वको मौनता केका लागि ? भन्दै गम्भीर प्रश्न उठेको केन्द्रीय नेतृत्वको यो हस्तक्षेपकारी निर्णयलाई सच्याई पूर्ववत ५ नं. प्रदेशको राजधानी रुपन्देहीको बुटवललाई नै तोकियोस भन्ने सम्पूर्ण गुल्मीवासीको चाहनालाई प्रतिनिधित्व गर्दै उक्त प्रस्ताव अविलम्ब फिर्ता लिन नेपाली कांग्रेस गुल्मीले माग गरेको छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.