काठमाडौं, पुस १० : सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन्। मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन्।
मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ। यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै आएका छन्। तर, मन्त्रीहरूले मन्त्रालयबाट थप मासिक ३ सय २० लिटरसम्म तेल लिने गरेको पाइएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले साउनयता मन्त्रालयबाट ९ सय लिटर तेल बुझेका छन्। उनका स्वकीय सचिवले पनि मन्त्रालयकै सवारीसाधन र इन्धन प्रयोग गर्ने गरेको मन्त्रालय स्रोतले जनाएको छ। त्यस्तै, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले मंसिरमा मात्रै मन्त्रालयबाट १ सय ३५ लिटर तेल हालेकी छिन्। मन्त्रालयको तथ्यांकअनुसार उनले भदौमा १ सय १७ लिटर, असोजमा १ सय ४२ लिटर र कात्तिकमा १ सय २५ लिटर तेल मन्त्रालयबाट लिएकी छिन्। मन्त्री चौधरीका स्वकीय सचिवले पनि मन्त्रालयबाट इन्धन लिने गरेका छन्।
आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मंसिरमा २५ हजार पाँच सय ३० रुपैयाँको इन्धन मन्त्रालयबाट हालेका छन्। मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाका अनुसार कार्यक्रममा जाँदा मन्त्रीको गाडीमा मासिक करिब डेढ सय लिटर तेल हाल्ने गरिएको छ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मंसिरमा मात्र मन्त्रालयबाट तीन सय २० लिटर तेल लिएका छन्। २७ कात्तिकमा शपथ लिएका मन्त्री सुवेदीले कात्तिकमा मात्र ५० लिटर इन्धन लिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।
२७ कात्तिकमा नियुक्त भएका उद्योग राज्यमन्त्री प्रकाश रावलले पनि मन्त्रालयको कुपनबाट चार सय ४७ लिटर तेल हालेका छन्। भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले साउनयता मन्त्रालयबाट एक सय ८० लिटर तेल लिएका छन्। उद्योगमन्त्री माया भट्टले साउनयता सय लिटर तेल लिएकी छिन्। अधिकांश मन्त्रीका स्वकीय सचिवले पनि मन्त्रालयबाट मोटरसाइकल र इन्धन लिएका छन्।
केन्द्रका मन्त्रीका स्वकीय सचिवालयमा अधिकतम सातजना, प्रदेश २ का मन्त्रीका सचिवालयमा नौजनासम्म
केन्द्रीय मन्त्रीको पारिश्रमिक र सचिवालय खर्च दुई लाख ३२ हजार, प्रदेश २ मा मन्त्रीको खर्च दुई लाख ८६ हजार
प्रदेश २ मा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई तलब तथा विभिन्न शीर्षकको भत्ता र इन्धन सुविधा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराउँदै आएको छ। तर, मन्त्री र राज्यमन्त्रीहरूले आफ्ना मन्त्रालयबाट पनि इन्धनसहितको थप सुविधा लिने गरेका छन्। मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐनअनुसार मुख्यमन्त्रीले मासिक ३०० लिटर, मन्त्रीले २५० लिटर र राज्यमन्त्रीले २२५ लिटर इन्धन प्रयोग गर्न सक्ने व्यवस्था छ। यस्तै, तीन–तीन महिनामा गाडीमा हाल्न १० लिटर मोबिल पाउँछन्। तर, मन्त्री र राज्यमन्त्रीहरूले आफ्ना मन्त्रालयबाट पनि इन्धन, मोबिल शीर्षकमा सुविधा लिने गरेका छन्। उनीहरूले आफ्नो मन्त्रालयबाट १५० देखि २५० लिटरसम्म इन्धनको कुपन लिन्छन्।
मन्त्रीको आवासका लागि आवश्यक सामानसमेत मन्त्रालयबाट किनिएको छ। मन्त्री आवासमा फ्रिज, वासिङ मेसिन, हिटर, टिभी, टाबेल र चप्पलसमेतको बिल भुक्तानी मन्त्रालयबाट भएको छ। उता, मन्त्रीको अतिथि सत्कार, सञ्चार भत्ता, धारा–बिजुलीलगायतका सुविधाबापतको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तलबसँगै भुक्तानी गर्छ। यसरी प्रदेश २ का मन्त्रीका लागि सरकारले मासिक दुई लाख ८६ हजार ८७० रुपैयाँ भुक्तानी गर्दै आएको छ।
प्रदेश ३ : मुख्यमन्त्री कार्यालयबाट इन्धन, आफ्नो मन्त्रालयबाट नगद बुझ्दै तीन मन्त्री
प्रदेश ३ का पाँचमध्ये तीन मन्त्री अर्थात् शालिकराम जम्मरकट्टेल, कैलाश ढुंगेल र दावादोर्जे लामाले मुख्यमन्त्री कार्यालयबाट इन्धन लिइरहेका छन् भने आफ्नो मन्त्रालयबाट सोही शीर्षकमा नगद लिइरहेका छन्।
मन्त्रीहरूको इन्धनको व्यवस्था मुख्यमन्त्री कार्यालयले गर्छ। मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधासम्बन्धी ऐनअनुसार मुख्यमन्त्रीले मासिक २ सय ५०, मन्त्रीले १ सय २५ लिटर इन्धन पाउँछन्। मन्त्रीहरू राजधानी हेटौँडाबाहिर जाँदा आवश्यकताअनुसार हालिएको इन्धनको बिलको भुक्तानी मुख्यमन्त्री कार्यालयले व्यहोर्छ। तर, तीनजना मन्त्रीले मन्त्रालयमा इन्धन (पदाधिकारी) शीर्षकमा पैसा राखेर रकम बुझेको उनीहरूकै मन्त्रालयको फाँटबारीमा उल्लेख छ।
मुख्यमन्त्री कार्यालयबाट लिएको इन्धन सुविधाबाहेक आ–आफ्ना मन्त्रालयबाट आन्तरिक मामिलामन्त्री जम्मरकट्टेलले ३२ हजार ११७ रुपैयाँ, आर्थिक मामिलामन्त्री ढुंगेलले ७२ हजार ३७६ रुपैयाँ र कृषिमन्त्री लामाले एक लाख दुई हजार २२८ रुपैयाँ बुझेका छन्।
प्रदेश ५ : अनुगमनका नाममा मन्त्रालयबाट इन्धन लिँदै मन्त्री
प्रदेश ५ का दुई मन्त्रीले अनुगमन र जिल्ला भ्रमणका नाममा मन्त्रालयबाट पनि तेल लिने गरेका छन्। जब कि, उनीहरूलाई सरकारले मासिक दुई सय लिटर छुट्टै इन्धन दिन्छ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मासिक एक सय लिटरसम्मको तेलको बिल मन्त्रालयमा पेस गर्ने गरेकी छिन्। मन्त्रालयका लेखा अधिकृत लक्ष्मण पौडेलका अनुसार मन्त्री अनुगमनमा जाँदा बिलअनुसार रकम उपलब्ध गराइने गरेको छ। बाहिरी जिल्लाहरू जाँदा आवश्यकता हेरेर इन्धन उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पनि मन्त्रालयको काममा जिल्ला जाँदा एक–दुईपटक मन्त्रालयबाट इन्धन लिएको मन्त्रालयले जनाएको छ। नयाँ पत्रिकाबाट साभार