प्रदूषणले दिल्लीका स्कुल कलेज बन्द

रिपोर्ट नेपाल | 2021 Nov 18 | 08:02 am 2153

नयाँदिल्ली, मंसिर २ः वायु प्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा क्याम्पस अनिश्चित कालका लागि बन्द गरिएको छ। दीपावली सकिएलगत्तै फैलिएको प्रदूषित कुहिरोले दिल्लीको आकाशलाई धुम्म पारेको छ भने वायु प्रदूषण जनस्वास्थ्यमा अत्यधिक असर गर्ने स्तरमा उक्लेको छ।

गाडीवाट निस्केको धुवाँ,औद्योगिक प्रतिष्ठानको उत्सर्जन, धुलो तथा मौसमी कारणले विश्वका अत्यन्त प्रदूषित सहरको सूचीमा दिल्ली अग्रस्थानमा रहँदै आएको छ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ। यो सूचीमा काठमाडौं २६औं स्थानमा छ।

दिल्लीका विभिन्न भागमा वायु प्रदूषणको गुणस्तर सूचकांक (एक्युआई) ४०० नाघेको बिबिसीले जनाएको छ। प्रदूषण अचाक्ली बढेपछि आइतबारसम्म सबै खाले निर्माण कार्य बन्द गरिएको छ । तर प्रतिरक्षा तथा यातायातसम्बन्धी परियोजना जारी राखिएको छ।

दिल्लीमा रहेका कोइलामा आधारित ११ विद्युत् उत्पादन प्लान्टमध्ये ५ वटालाई मात्र सञ्चालन अनुमति दिइएको छ । दिल्ली सरकारले स्थिति अझ बिग्रेमा लकडाउन गर्न सकिने बताएको छ।

नेपालमा जस्तै हिउँद याम सुरु भएपछि दिल्लीका आसपासका राज्यमा किसानले छैमल बाल्ने गर्दा वायुको गुणस्तर बिग्रने गर्छ भने दीपावलीमा पड्काइने पटाकाले प्रदूषणको स्तर झन् बढाउने गर्छ । यसैगरी हावाको कमजोर प्रवाहका कारण प्रदूषण उडेर जान सक्दैन र वायुमण्डलको तल्लो तहमा थिग्रिएर बस्ने गर्छ।

दिल्लीका यातायात मन्त्री कैलास गेहलटले जनसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न अनुरोध गरेका छन्। उनले एक हजार निजी बस भाडामा लिएर सञ्चालन गरिने बताएको टाइम्स अफ इन्डियाले जनाएको छ।

उनले प्रदूषण दिल्लीको मात्र समस्या नभएको भन्दै उत्तर प्रदेश, हरियाणालगायतका राज्यले प्रदूषण रोक्न ठोस प्रयास गर्नुपर्ने बताएका छन्।

दिल्लीको वायु प्रदूषण नियन्त्रणसम्बन्धी कमिसनले सकेसम्म घरबाटै काम गर्न र ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालयमा खटाउन भनेको छ। दिल्लीमा अत्यावश्यक सामान बोक्नेबाहेक अन्य ट्रकको प्रवेश निषेध गरिएको छ।

अमेरिकी अनुसन्धान संस्था इनर्जी पोलिसी इन्स्टिच्युटले गरेको एक अध्ययनअनुसार प्रदूषणका कारण भारतमा बर्सेनि १० लाख मानिसको मृत्यु हुने गरेको छ। उक्त संस्थाले हालै गरेको अध्ययनअुनसार भारतको उत्तरी क्षेत्रमा विश्वका अन्य स्थानभन्दा १० गुणा बढी वायु प्रदूषण छ। यो क्षेत्रमा वायु प्रदूषणका कारण सरदर मानिसको आयु ९ वर्षले घटाउन सक्ने उक्त अध्ययनको आकलन छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.