ललितपुर, पुस ४ : तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा शुक्रबारबाट प्रारम्भ भएको खेलको सुरुवात प्रकाश दाहालकी पत्नी तथा खानेपानी मन्त्री बिना मगरले गरिन् । मन्त्री मगरले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्त्वपूर्ण योगदान गर्ने भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् ।
‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो,’ उनले भनिन्, ‘खेलकुदले खेलाडीलाई अनुशासित हुन मात्रै सिकाउँदैन । राष्ट्रको पहिचानमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसैले खेल क्षेत्रमा लगानी बढाउनु जरुरी छ ।’

नेपाल तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले हालै नेपालमा सम्पन्न साग खेलकुदमा नेपालले गरेको प्रगति यस्तै प्रतियोगिताहरुबाट सम्भव भएको बताए । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गर्नका लागि पनि स्थानीय स्तरबाटै खेलाडीलाई हौसला प्रदान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष महर्जनले बताए ।
प्रतियोगिता दुई दिनसम्म चल्ने छ । काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न १५ जिल्लाबाट खेलाडी सहभागी भएका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीमध्ये प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद रकम प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिए । त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही ५–५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिइने मालीले बताए ।