दाङ, माघ १४: जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध चरेश र चितुवाको छला सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागूऔषध चरेशसहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका २ रातामाटाका २१ वर्षका अनिल पुनमगर, सोही नगरपालिका ६ का ४० वर्षिय बाहादुर बोहोरा र रुकुम आठबिसकोट नगरपालिका ९ का २८ वर्षीय भीमवहादुर सार्की रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १२ सितलपुरवाट २ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान थालेको बताइएको छ।
यसैगरी, सोही जिल्लामा चितुवाको छालासहित दुईजनालाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका १ का २४ का चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्ती रहेका छन् ।
उनीहरुलाई चितुवाको छालासहित घोराहीबाट प्रहरीले पक्राउ गरेको हो। घोराही १४ स्थित बसर्पाकमा समातिएका पुन र घर्तीको साथबाट प्रहरीले चितुवाको टाउको, बङ्गारा र पुच्छरसमेत रहेको चितुवाको छाला बरामद गरेको छ।
प्रतिबन्धित चितुवाको ओखटोपहारसहित पक्राउ परेका यी दुईमाथि पनि प्रहरीले आवश्यक अनुसन्धान थालिएको जनाइएको छ।