प्रतिबन्धित चितुवाको छालासहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 26 | 03:59 pm 1922

रुकुम (पश्चिम), कात्तिक ९: अवैध रुपमा बिक्रिका लागि ल्याइएको १ थान चितुवाको छालासहित रुकुम पश्चिममा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का अर्जुन बुढा भनिने छायाँ विक र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का १९ वर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनीहरुलाई मुसीकोट नगरपालिका ७, वैरिदहबाट उक्त चितुवाको छालासहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

रुकुम पूर्वबाट रुकुम पश्चिम हुँदै दाङ, नेपालगञ्जतर्फ वन्यजन्तुको छाला ओसारपसार भैरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक कबिराज रोकायको कमाण्डमा खटिएको विशेष टोलीले शुक्रबार बेलुकी साढे ७ बजे संरक्षित वन्यजन्तु चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको डीएसपी खड्काले बताए ।

शंकास्पद अवस्थामा आईरहेको उनीहरुलाई रोक्न खोज्दा भाग्न खोजेपछि नियन्त्रणमा लिई खानतलासि गर्दा विक र नेपालीको साथबाट चितुवाको छाला बरामद गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयको जिम्मा लगाउने तयारी भैरहेको बुझिएको छ । यसअघि पनि रुकुम पश्चिमलाई ट्रान्जिट बनाएर वन्यजन्तुको छाला ओसारपसार गर्ने क्रम बढेपछि विशेष निगरानी बढाइएको थियो । त्यसै क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको डीएसपी खड्काको भनाइ छ ।

उनका अनुसार यसअघि जिल्लामा ३ वटा रेडपाण्डा र एउटा बाघको छालासहित केही व्यक्तिहरु पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.