धनुषा, चैत १८ : गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नम्बर २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ ।
सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीले ज्यान गुमाएका छन् । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४ सय भन्दा बढी घाइते उपचाररत छन् ।
उपचारका क्रममा थप केही घाइतेहरुको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा निरन्तर लागि रहेका छन् ।
प्रकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले बैठकको निर्णयबारे जानकारी दिँदै प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने र उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने बताए ।
त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए ।