प्रकाण्ड रिहा गर्न सर्वोच्‍चको तेस्रो आदेश, चौथो पटक पुन: पक्राउ

| 2018 Sep 04 | 07:03 am 2306

नुवाकोट, भदौ १९ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लार्इ सर्वोच्च अदालतले तेस्रो पटक रिहाइको आदेश गरेपनि पुन: प्रहरीले चौथो पटक पक्राउ गरेको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले थुनामा राख्ने कारण, आधार र प्रमाण नदेखिएको भन्दै सोमबार रिहा गर्न आदेश दिएको हो।

प्रवक्ता प्रकाण्डलार्इ पटक पटक गैरकानुनी थुनामा राख्ने काम गर्दै अदालतको आदेश पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिए।

जिल्ला न्यायाधीसको रोहबरमा छोड्‍न आदेश दिएलगत्तै राति ८: ४० बजे प्रहरीले पुन: पक्राउ गरेको हो। प्रकाण्डलाई बेलकोगडी नपा–९ मा गएको साउन ७ गते राती दुईवटा स्काभेटर जलाएको आरोपमा पक्राउ गरि भदौ ८ गते नुवाकोट ल्याइएको थियो ।

जिल्ला न्यायधीश ऋषिकेश वाग्ले उपस्थितीमा रिहा भएका विश्वकर्मालाई अदालतको गेटमा बसिरहेका प्रहरीले तत्काल पक्राउ गरेको हो ।

विश्वकर्मालाई गएको चुनावमा हाल प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको चुनावी अभियानको टोलीमााथि भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकोले भोजपुर पठाइएको प्रहरीले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डलार्इ तेस्रो पटक सर्वोच्च अदालले रिहाइको आदेश दिएको छ। यसअघि सर्वोच्चले दुर्इपटक रिहाइको आदेश जारी गरेको पनि प्रहरीले विभिन्न अभियोगमा अदालत परिसर बाहिरबाटै पक्राउ गर्ने गरेको थियो।

गैरकानुनी रुपमा करिब सात करोड चन्दा असुलीको अभियोगमा गत साउन २३ गते पक्राउ गरेको थियो। यसअघि ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ १ भदौमा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो।

दोस्रोपटक ७ भदौ पनि सर्वोच्चले रिहाइको आदेश गरेलगत्तै भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले तेस्रोपटक सोही दिन पक्राउ गरेको थियो।

त्यसपछि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो। त्यहाँको अदालतले समेत छाड्ने आदेश विपरित उनलाई पक्राउ गरिएको थियो।

यस्तै, नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै केपी-पीके सरकारले आफ्नो पार्टीका नेता/कार्यकर्तालाई दिनदिनैजस्तो अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता पार्ने गरेको आरोप लगाएका छन्।

उनले सरकारले पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरू किरण राई, दीपेश राई, वेदनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता/कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिइरहेको बताएका छन्।

केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई ५ भदौमा गिरफ्तार गरी अहिलेसम्म बेपत्ता पारेको पार्टीले आरोप लगाएको छ। विप्लवले सरकारले शृंखलाबद्ध गिरफ्तारी तुरुन्त रोक्न र गिरफ्तार सबैलाई ससम्मान रिहा गर्न माग गरेका छन्।

विप्लवले आफ्ना कार्यकर्ता रिहा नगरे संसदीय व्यवस्थाको नेतृत्व गरेको वर्तमान सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.