पोखरा महानगरका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए

रिपोर्ट नेपाल | 2018 Jul 14 | 02:54 pm 1898

तनहुँ, असार ३०: पोखरा-लेखनाथ महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ ।

भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो। असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् ।

सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरिएको सई कार्कीले बताए ।

शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.