पोखरा, असोज १०: पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी छिन्। सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया विक मंगलबार मृत फेला परेकी हुन्।
घरबाट पसलतर्फ जाने बाटोनजिकैको झाडीमा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए। स्थानीयले उनको बलात्कारपछि हत्या भएको बताएका छन्। बिस्कुट किन्न हिँडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए। मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी आमासँगै पुम्दीभुम्दीस्थित मामाघरमा बस्दै आएकी थिइन्। श्रीया लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन्।
झाडीमा मृत भेटिएकी श्रीयाको शव घटनास्थलमा घोप्टो परेको अवस्थामा थियो। निधारमा ढुंगाले हानेको जस्तो चोट रहेको र रगत लागेका तीनवटा ढुंगा शवसँगै रहेको पाइएको छ । उनको शरीरको तल्लो भागको कपडा खोलिएको र माथिको भागको कपडा घाँटीसम्मै सारेको अवस्था थियो।
घटनापछि आफन्त र स्थानीयले हत्यारालाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्। प्रहरीले घटनास्थलबाट उनको शव पोस्टमार्टमका लागि अस्पताल लैजान खोज्दा स्थानीय र आफन्तले शव लैजान नदिने भन्दै नाराबाजीसमेत गरेका थिए।
स्थानीयले बलात्कारपछि उनको हत्या भएको आशंका गरे पनि प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर ल्याउने बताएको छ। वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीका अनुसार घटनास्थल हेर्दा उनको हत्या भएको देखिए पनि बलात्कार भए–नभएको अहिले केही भन्न नसकिने बताए। शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
कास्कीमा आर्थिक वर्ष ०७४/७५ मा जबर्जस्ती करणीमा २२ र जबर्जस्ती करणी उद्योगमा ११ गरी ३३ करणीका मुद्दा दर्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय कास्की अनुसन्धान शाखाका प्रहरी जवान दानबहादुर थापाका अनुसार करणी मुद्दामा पीडित अधिकांश बालिका छन्। ती सबै मुद्दामा कारबाही प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ। चालू आर्थिक वर्ष ०७५/७६ मा ७ वटा करणीका मुद्दा परेको थापाले बताए।