पोखरामा पनि अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 26 | 05:42 pm 1655

पाेखरा, साउन १० : अत्यधिक रक्तश्रावका कारण पोखरामा एक सुत्केरीको मृत्यु भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया सुत्केरी निषाकुमारी थापाको शुक्रबार बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

केसीका अनुसार बिहीबार साँझ ७:४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा थापाले सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकी थिइन्।

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले दोषी चिकित्सकले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन्।

मृतकका भाइ वसन्त थापामगरले सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान ८ बजे अस्पताल भर्ना गरिएको र बेलुका बच्चाको जन्म भएपछि लामो समय रक्तश्राव नरोकिएको बताए।

रक्तश्राव भएकाबारे पटकपटक चिकित्सकलाई जानकारी गराउँदा केही समयपछि ठीक हुने बताएर यसलाई गम्भीररुपमा नलिँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ।

रक्तश्राव रोकथामका लागि प्रयास नगरेको र ढिलो गरी चार पोका रगत माग गरेको तथा पाठेघरको शल्यक्रियाका कारणले गर्दा नै सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ।

अस्पताल स्रोतले भने रक्तश्राव रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पका रुपमा पाठेघरको शल्यक्रिया गरिएको बताएको छ।

बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.