पोखरामा जम्मा भए सातै प्रदेशका मुख्यमन्त्री

| 2018 Sep 06 | 09:02 am 1891

काठमाडौं, भदौ १७: मुख्यमन्त्री भेलामा सहभागी हुने सातवटै प्रदेशका मुख्यमन्त्री पोखरामा जम्मा भएका छन्। गण्डकी प्रदेश सरकारको आयोजनामा सात प्रदेशका मुख्यमन्त्रीहरूको पहिलो भेला बिहीबार पोखरामा हुँदै छ।

भेलामा सहभागी हुन प्रदेश १, २ र ३ का मुख्यमन्त्री बुधबार नै पोखरा पुगेका हुन् भने प्रदेश ५, कर्णाली र प्रदेश ७ का मुख्यमन्त्री बिहीबार बिहान पोखरा पुगेका छन्।

मुख्यमन्त्रीका अनुभव साटिने

भेलामा मुख्यमन्त्रीहरूले आफ्नो अनुभव आदान–प्रदान गर्ने, सामूहिक छलफल गर्ने, सहकार्यको भावी योजना र रणनीतिबारे निर्णय लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । २४ भदौमा प्रधानमन्त्रीको अध्यक्षतामा काठमाडौंमा हुन लागेको अन्तरप्रदेश परिषद् बैठकको तयारीसँगै त्यहाँ राख्ने एजेन्डाबारे छलफल गर्नसमेत भेला आयोजना गरिएको उनले बताए । भेलामा प्रदेशका ठूला आयोजना, समस्या, भावी रणनीति, योजना कार्यान्वयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

गण्डकी प्रदेशले बनायो मापदण्ड

यसैबीच, गण्डकी प्रदेश सरकारले आफ्नो मातहतका मुख्यमन्त्रीको कार्यालय वा अन्य मन्त्रालयका लागि आवश्यक विज्ञ वा सल्लाहकार नियुक्ति गर्न मापदण्ड पारित गरेको छ । बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले विज्ञ नियुक्तिको मापदण्ड पारित गरेको हो । भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले विज्ञ नियुक्तिको मापदण्डदेखि खेलाडी सम्मानलगायत विभिन्न ६ वटा निर्णय भएको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालय वा अन्य मन्त्रालयले सल्लाहकार वा विज्ञ राख्दा समस्या उत्पन्न भएपछि प्रदेश सरकारले मापदण्ड बनाएको हो ।

सात दिनभित्र गुनासा सम्बोधन

गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशअन्तर्गत पर्ने जिल्लाका जनताका गुनासा र समस्या समाधान गर्ने उद्देश्यले करिब दुई साताअघि सञ्चालनमा ल्याइएको हेलो मुख्यमन्त्री कार्यक्रमलाई व्यवस्थित गर्न बैठकले निर्देशिका पारित गरेको छ ।

कार्यक्रम सञ्चालन गर्न उपसचिवको नेतृत्वमा एक शाखाअधिकृत, एक नायबसुब्बासहितको सचिवालय बनाइने भएको छ । हेलो मुख्यमन्त्रीमा टिपाइएका समस्या र गुनासाको कम्तीमा एकदेखि बढीमा सात दिनभित्र समाधान खोज्ने गरी व्यवस्था मिलाइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.