काठमाडौं, जेठ ३०ः सरकारले विगत ८० दिनदेखि जारी बन्दाबन्दी (लकडाउन)लाई खुकुलो बनाउँदै विभिन्न क्षेत्रलाई खुला गर्ने निर्णय गरेको छ । सर्वसाधारण, श्रमिक, मजदुर तथा व्यापारी समस्यामा परेसँगै लकडाउन खुकुलो बनाउन माग गरिएपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको स्वरूप परिवर्तन गरेको हो ।
गत ११ चैतदेखि लकडाउन घोषणा गरेर अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन र सवारी चलाउन प्रतिबन्ध लगाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझसम्म बसेको मन्त्रिपरिषद् बैठकले अब पैदल यात्रा गर्न खुला गरेको छ भने मोटरसाइकल तथा निजी सवारीसाधन जोर–बिजोर प्रणालीमा सम्बन्धित जिल्लाभित्र सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ ।
सरकारले सबै किसिमका पसल तथा उद्योग व्यापार सञ्चालन गर्न दिने, सरकारी कार्यालय खोल्ने तथा विकास निर्माणका सबै काम सञ्चालन गर्न दिने निर्णय गर्दै लकडाउन खुकुलो बनाएको हो ।
सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो ।
त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, त्यसपछि १५ वैशाख र २५ वैशाखसम्म लकडाउन गरिएको थियो । देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिँदै ५ जेठसम्म पु¥याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लोपटक थप गर्दै ३२ जेठसम्म लकडाउन अवधि थपेको थियो । अब भने सरकारले लकडाउनमा सहजीकरण गर्दै खुकुलो बनाउने नीति लिएको हो । राजधानी दैनिकबाट