काठमाडौं, साउन १७ : गृहमन्त्री रामबहादुर थापा बादलले सांसद निरु पाललाई धम्की दिएको घटना राजनीतिक अस्थिरता फैलाउने उद्धेश्यले गराइएको बताएका छन् । बिहीबार सांसदमा घटनाको बारेमा जानकारी दिँदै गृहमन्त्री थापाले उक्त घटना राजनीतिक अस्थिरता फैलाउन खेल भएको बताएका हुन् ।
उक्त घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले घटनाको छानबिन भइरहेको समेत जानकारी दिए । नेकपाका सांसद निरुपालले केहि दिन अघि मात्र आफूलाई पेस्तोल देखाएर धम्की दिएको बताएकी थिइन् ।
संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले यो घटना राजनीति प्रकृतिको रहेको बताए । उनले भने ‘अहिले देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ । राजनीतिक स्थायीत्व कायम भएको छ ।तर राजनीतिक स्थिरता नचाहनेहरुले अस्थिरता फैलाउन खोजेका छन्, त्यसलाई कुनै न कुनै रुपमा अघि बढाउन चाहन्छन् ।’
अहिले पनि देशमा धार्मिक, साम्प्रदायिक, जातीय, क्षेत्रीय घटना उठाएर र त्यसलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता फैलाउने काम भइरहेको भन्दै गृहमन्त्री थापाले सरकार यसतर्फ सचेत रहेको बताए । घटनाबारे थप अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको टोलीमा साउन १३ गतेबाट अनुसन्धान थालेको उनको भनाइ थियो।
गृहमन्त्री थापाले घटनाबारे जानकारी हुने वित्तिकै प्रशासनले सांसद पालको सुरक्षाका लागि कदम चालेको जानकारी समेत गराए । उनले यो घटनाको विषयमा गम्भीर छानबिन हुने पनि बताए ।