पेस्तोलसहित डाँका गर्ने दुई जना पक्राउ

| 2022 Oct 17 | 05:47 pm 1241

काठमाडौं, असोज ३१ः पेस्तोलसहित डाँका गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका वडा नं. ७ घर भई हाल चाँगुनारायण भक्तपुर बस्ने वर्ष ४१ का अम्बर बहादुर मगर र संखुवासभा पाँचखपन नगरपालिका वडा नं.८ घर भई हाल काठमाडौं जोरपाटी बस्ने वर्ष ३२ का रविन किशोर राई (सुवास) रहेका छन् ।

उनीहरुले मिति २०७९ भदौ २५ गते भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर स्थित एउटा घरमा अपरिचित व्यक्तिहरुले फलामको रडले ढोकाको ताला फटाई हातमा पेस्तोल र खुकुरी बोकेको अवस्थामा आफूहरु प्रहरी हौं भन्दै अपहरण तथा डाँका गर्ने शैलीमा पेस्तोल ताकी कोठा भित्र प्रवेश गरी धनमाल डाँका गरी लगेको थियो ।

उपत्यकाका विभिन्न स्थानबाट घटनामा प्रयोग भएको स्पेशल मेडी इन इटाली लेखेको पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली २ राउण्ड, खुकुरी १ थान, फलामको रड २ थान, फलामको स्क्रु ड्राईभर ४ थान, फलामको रेन्ची १ थान, बिड नभएको फलामको सानो हम्बर १ थान लगायतका सामानसहित हिजो आइतबार उनीहरुलाई प्रहरी पक्राउ गरेको हो ।

उक्राउ गरी उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर र हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि आज सोमबार जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.