स्याङ्जा, जेठ ३०ः तोकिएको मूल्यभन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको आरोपमा स्याङ्जामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ३, आमबोटबाट २४ वर्षीय गौरव प्रधान, ३३ वर्षीया विष्णुमाया शर्मा र सोही नगरपालिका १०, राङखोलाका ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।
उनीहरूले सञ्चालन गरेको पसलमा एक लिटरको खाली बोतल र जर्किनमा पेट्रोल भरेर अनुचित नाफा लिई बढी मूल्यमा बिक्री गरेको फेला पारी उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेकाे हो ।
पक्राउ परेका उनीहरुविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा म्याद थप अनुमति कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएकाे छ ।