पृतनापति समन्वयात्मक बैठक २०७९ शुरु

रिपोर्ट नेपाल | 2023 Feb 12 | 05:32 pm 973

काठमाडाैं, माघ २९ः  रक्षामन्त्री श्री हरि प्रसाद उप्रेतीले २६० वर्षको गर्विलो ईतिहास बोकेको नेपाली सेनाले आफुलाई प्राप्त राष्ट्रिय सुरक्षा सम्बन्धी प्राथमिक जिम्मेवारीका साथै अन्य विविध दायित्वहरु प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेकोमा सम्पूर्ण नेपाली सेनाको पेशागत दक्षता तथा कार्यकुशलताको मुक्त कण्ठले प्रशंसा गरेका छन् । जङ्गी अड्‍डामा आयोजित पृतनापति समन्वयात्मक बैठक २०७९ को शुभारम्भका अवसरमा लक्षित उद्देश्य प्राप्तिमा बैठक सफल होस् भन्ने शुभकामना व्यक्त गर्ने क्रममा माननीय रक्षामन्त्रीले उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्ने गहन जिम्मेवारी प्राप्त नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायहरुसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आईरहेको बताउदै उनले कोभिड-१९ महामारी लगायत विभिन्न विपद्को दौरान अग्रपंक्तिमा खटिई नेपाली सेनाका सकलदर्जाले व्यक्तिगत जोखिमको पर्वाह नगरी निर्वाह गरेको अभूतपूर्व भूमिकाको प्रशंसा गरे ।

मन्तव्यकै क्रममा रक्षामन्त्रीले विद्यमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा खतरा र चुनौतीहरुसँगै राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सृजना गर्न क्रियाशिल व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौतीको रुपमा रहेका हुँदा त्यस्ता बाह्य र आन्तरिक दुवै सुरक्षा खतराहरुलाई सुक्ष्म विश्लेषण र मूल्याङ्कन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनु पर्ने बताए ।

निर्दिष्ट संवैधानिक दायित्वहरु सम्पादन गर्न तथा राष्ट्रिय हितलाई सम्वर्द्धन गर्न नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण गर्दै लैजानु पर्ने कुरा उल्लेख गर्दै रक्षामन्त्रीले नेपाली सेनाको दीर्घकालीन सोंच-२०८७, नेपाली सेनाको सांगठनिक पुनर्संरचना-२०७८, नेपाली सेनाको सांगठनिक पुनर्संरचना-२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन योजना लगायत अन्य मार्गनिर्देशक दस्तावेजहरु बमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्ने उल्लेख गरे । उनले प्रधान सेनापतिबाट संगठन सुदृढीकरणका लागि लिनुभएका पहलकदमीहरुले नेपाली सेनाका सकलदर्जामा नयाँ उर्जा प्राप्त भई राष्ट्रिय भावना र
देशभक्तिपूर्ण कार्यमा थप जाग्रित हुने विश्वास व्यक्त गरे ।

यसै क्रममा कमाण्ड अवधारणा यथावत राखी पुनर्स्थापित पृतनाहरुलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउँदै नेपाली सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना लगायत
विभिन्न करिडोरहरुको निर्माण कार्य समयमा नै सम्पन्न गर्न रक्षा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने समेत उल्लेख गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको कुरा बताए । उनले जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारी लगायत आर्थिक, सामाजिक, कुटनैतिक, वातावरणीय, खाद्य, उर्जा, साइबर सुरक्षा एवं अन्य मानव श्रृजित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी नेपाली सेना हरहमेशा तयारी अवस्थामा रहनुपर्ने आवश्यकता रहेको हुँदा सैनिक अपरेशनहरुमा सकलदर्जाको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप आन्तरिक एवं विदेशी सेनासँग सहकार्य गरी विभिन्न तालिमहरु सञ्चालन भईरहेको समेत उल्लेख गरे ।

मन्तव्यकै क्रममा प्रधान सेनापतिले विपद्‍ले विपत्ती मात्र निम्त्याउने नभई सुरक्षा फौजको प्रतिकार्य क्षमता समेत परिक्षण गर्ने गरेकोमा हालै पोखरामा भएको दुःखद हवाइ जहाज दुर्घटनाको दौरान विपद् प्रतिकार्यमा रहेका कतिपय Gaps हरु उजागर भएका र गत हप्ता टर्कीमा गएको विनाशकारी भूकम्पबाट उत्पन्न संकटले नेपालको विगतका तीता अनुभवहरुलाई फेरी झक्झक्याएको कुरा उल्लेख गर्दै विपद् प्रतिकार्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई स्रोत सम्पन्न बनाउनु पर्ने आवश्यकता औल्याए ।

प्रधान सेनापतिले सुदृढ सुरक्षा व्यवस्था नै राष्ट्र विकास एवं दिगो राष्ट्रिय सुरक्षाको आधारशिला रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका बहुआयामीक पक्षहरुलाई सम्बोधन, समाधान तथा न्यूनिकरण गर्न नेपाली सेनाको समयसापेक्ष आधुनिकिकरण हुन अपरिहार्य रहेको हुंदा "नेपाली सेनाको दीर्घकालीन सोच NA Vision 2030 लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन नेपाल सरकार, रक्षा मन्त्रालयकातर्फबाट विशेष पहल र सहयोगको निरन्तरता रहने विश्वास प्रकट गरे ।

उनले राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्व बोकेका काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना तथा विभिन्न करिडोरहरु यथाशिघ्र सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराउँदै बंकर टु ब्यारेक कार्यक्रम, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, Mass Casualty Treatment Center (MCTC) लगायतका महत्त्वपूर्ण योजनाहरुको सफल कार्यान्वयनको लागि नेपाल सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

आठवटै पृतनाका पृतनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त दुई दिने समन्वयात्मक बैठकको दौरान सहभागीहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु प्रस्तुत गर्नेछन् । आज आयोजित समुद्‍घाटन कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा लगायत रक्षा मन्त्रालयका अधिकारीहरु उपस्थित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.