काठमाडौं, भदौ २: पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्रीका रूपमा इमरान खानलाई चयन गरेको छ। टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने, ‘इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।’
खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका साहबाज सरिफले भने ९६ मत मात्रै प्राप्त गरेको सभामुख क्विसेरले संसद्मा घोषणा गरेका थिए ।
विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले शनिबार पाकिस्तानी प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्ने भएका छन् । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गत २५ जुलाईमा सम्पन्न निर्वाचनबाट उनको पार्र्टी तेहरिक–ए–इन्साफ (पीटीआई)ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्र्टी भएको छ ।
विपक्षीहरूले निर्वाचन परिणाममा धाँधली भएको विचार राख्दै नतिजा अस्वीकार गरेकाले विवादबीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्र्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन्।
कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । सरकार गठनका लागि आफूले मात्रै बहुमत प्राप्त नगरेकाले उनले गठबन्धन सरकार बनाउनुपर्ने भएको छ।
सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल खान नयाँ सरकार बनाउने तयारीमा छन् । क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएका खानले क्रिकेटबाट सन्न्यास लिई ४३ वर्षको उमेरमा सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए।