पूर्वी चितवनमा देखियो बर्ड फ्लु

रिपोर्ट नेपाल | 2022 Feb 11 | 01:39 pm 1981

चितवन, माघ २८ः पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका ६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी  तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.