पूर्वसांसद जोशीको निधनप्रति देउवाद्‍वारा दु:ख व्यक्त, संसदमा शोक प्रस्ताव पारित

रिपोर्ट नेपाल | 2018 Aug 01 | 12:54 pm 2109

बैतडी, साउन १६: नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ। मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए।

२०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका जोशी २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका थिए। २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका जोशीका दुई छोरा र तीन छोरी छन्।

देउवाद्वारा दुख व्यक्त

जोशीको निधनप्रति काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। देउवाले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु्र्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

“उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

विसं २०४८ को आम निर्वाचनमा काँग्रेसका तर्फबाट बैतडी निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएका उहाँले लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा तीन वर्ष छ महिना जेल जीवनसमेत बिताउनुभएको काँग्रेसले जनाएको छ । उहाँका दुई छोरा र तीन छोरी छन्।

राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

राष्ट्रिय सभाको बुधबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। साथै बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो।

विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उहाँ नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

पूर्वसांसद जोशीको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

राष्ट्रियसभाको अर्को बैठक भोलि साउन १७ गते दिनको ११.३० बजे बस्‍नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.