पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

| 2018 Sep 06 | 06:52 pm 5327

काठमाडौं, भदौ २१ :  नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै आलोचना हुँदै आएका श्रेष्ठले पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै राजीनामा दिएका हुन् ।

नेपाल सरकार को १० औं तह (उपसचिव) पदमा कार्यरत श्रेष्ठले ३३ वर्ष स्वास्थ्य सेवामा बिताएका थिए । पछिल्लो समय उनी काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए ।

नेपाली कांग्रेस निकट डा श्रेष्ठलाई नेकपा निकट चिकित्सकहरुले सरकारी चिकित्सक भएर सरकारको विरोध गरेको भन्दै आलोचना गर्दै आएका थिए । ‘सरकारी कर्मचारी भएर सरकारको विराध गरेको भन्ने आलोचना आयो ।’ उनले भने ‘अब पूर्णरुपमा राजनीतिमा लाग्ने सोचले राजीनामा दिएको हुँ ।’

डा. श्रेष्ठविरुद्ध संघको अध्यक्ष भएपछि बिदा नलिई कार्यालय उपस्थित नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी समेत परेको छ ।  उक्त विषयमा अख्तियारले स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको मन्त्रालयका एक अधिकारीले बताए ।

अख्तियारमा उजुरी परेको विषयमा जिज्ञासा राख्दा डा श्रेष्ठले संघको अध्यक्ष नेपाल मेडिकल एसोसिएसनलगायत दर्जनौ स्थानमा पदेन सदस्य हुने र त्यसको बैठकमा जाँदा मन्त्रालयको सचिवसँग मौखिक जानकारी गराएर जाने गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.