पूँजीवादले बलात्कारका घटना बढ्यो, जनता पनि सजग हुनुपर्छ : गृहमन्त्री

| 2018 Sep 26 | 02:43 pm 2136

काठमाडौं, असोज १० :  पूँजीवादले बलात्कारका घटना बढेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा समिति सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

मन्त्री थापाले सबैभन्दा बढी बलात्कारका घटना अमेरिकामा र त्यसपछि भारतमा हुने बताउँदै नेपालमा भएका घटनालाई न्यूनीकरण गर्ने गरी सरकारले काम गरिरहेको बताए।

गृहमन्त्री थापाले दलाल पूँजीवाद हाबी भएको र आत्मनिर्भर अर्थतन्त्र नभएकोले बलात्कारका घटना निम्त्याउने गरेको बताए । ‘पूँजीवादले महिलालाई नाफा कमाउने मालको रुपमा बिक्री गर्छ । अमेरिका, भारतमा नि यस्तो हुन्छ ।’  उनले भने, ‘अब समाजिक आर्थिक आधार भत्काउनु पर्‍यो । सरकार आफैंले मात्र नियन्त्रण गर्न सक्दैन । जनता पनि आफैं सजग हुनुपर्छ ।’

सांसदहरुले सरकार बलियो हुँदा पनि हत्या, हिंसा, बलात्कारका घटना कम हुन नसकेको भन्दै मन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्रीले सरकारको बचाऊ गर्दै यस्तो घटना नयाँ नभएको र यसअघि पनि हुने गरेको बताए । उनले भने, ‘यो सरकार आएपछि मात्रै बलात्कार, हत्या र हिंसा बढेको हैन । यस्ता घटनापछि सामाजिक कारणहरु पनि छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.