काठमाडौं, पुस ४ः संघीय संसद् सचिवालयले आउँदो पुस ७ गते सांसदहरुलाई शपथ गराउने तयारी गरेको छ । सांसदहरुलाई पुस ७ गते शपथ गराउने गरी तयारी भइरहेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
‘७ गते दिउँसो १ बजे बानेश्वर हलमा नै थपथ गराउनेगरी हामीले तयारी अघि बढाएका छौं,’ प्रवक्ता डा. पाण्डेले भने । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा २ सय ७५ सांसदलाई बानेश्वरस्थित हलमा थपथको तयारी भइरहेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेका छन् ।
हाल नव निर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।
सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए । उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा सपथ लिएका थिए । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।